आपराधिक घटना रोक्न जिप्रका भक्तपुरले स्थानीय तहसँग समन्वय गर्ने

मानवअधिकार र आपराधिक घटना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ । 

भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताएकी हुन् ।

उनले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औँल्याउँदै चिनेजानेकाबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताइन् । बहुविवाह र बालविवाहलगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनुपर्नेमा जोड दिइन् ।

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समुचित रूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय तहमा जानुपर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । 

जिल्लाका चारवटै नगरपालिकामा अपराधका घटना रोक्नदेखि प्रशासनका सेवा लिनसमेत सहज गर्ने गरी कार्य गरेका छौँ भन्दै प्रजिअ शर्माले यसबारेमा निर्वाचन अगाडि जिल्लाका दुई नगरपालिकासँग छलफल भइसकेको र अब बाँकी नगरपालिकासँग छलफल गर्ने बताइन् । 

स्थानीय तहसँग लैंगिक हिंसा रोकथाम कोष रहेको बताउँदै उनले अपराध रोकथाम, हिंसा न्यूनीकरण, उद्धार र पुनःस्थापना केन्द्र सञ्चालन गर्नेलगायतका कार्य अगाडि बढाउँदै गाउँगाउँमा चेतना अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । 



महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घटना भने प्रहरीसम्म नआउने गरेको उल्लेख गर्दै स्थानीय तहले हिंसा न्यूनीकरणका लागि कार्यक्रम अगाडि ल्याउनुपर्नेमा जोड दिए । उनले सुरक्षादेखि समुदाय र विद्यालयस्तरमा समेत प्रहरीले सचेतना कार्यक्रम राख्दै आएको जानकारी दिए । 

भक्तपुरमा सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एक वर्षको अवधिमा महिला तथा बालिका गरी ५१ जना बलात्कारबाट पीडित भएका छन् भने चारजना बलात्कार प्रयासबाट र तीनजना बालिका बालयौन दुर्व्यबहारबाट पीडित भएको प्रहरीको तथ्यांक छ । 



यस अवधिमा आठजनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको, ७० जनामाथि अभद्र व्यवहार भएको, एकजनामा जातीय छुवाछूतबाट पीडित भएको, १५ महिला बहुविवाहबाट पीडित भएको, एक सय ५३ जनाले आत्महत्या गरेको, चारजना आत्महत्या दुरुत्साहनमा परेको, एक सय ६८ जनाको सम्बन्धविच्छेद भएको छ । 

त्यस्तै महिला, पुरुष र बालबालिका गरी यो वर्ष चार सय ४४ जना हराएकामा चार सय २४ जना फेला परेका छन् । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव सञ्जिव शुभचिन्तक, चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरे, सूर्यविनायक नगरपालिकाका पूर्व उपप्रमुख एवं अधिकारकर्मी जुना बस्नेतलगायतले सबै निकाय सचेत रहेमात्र अपराध न्यूनीकरण गर्न सकिने बताए ।

  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार २१:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया