१६ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को मिनी अक्सन शुक्रबार हुँदैछ । अक्सन केरलामा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।
आइपिएलका १० टोलीले घरेलु तथा अन्तर्राष्ट्रिय गरी ४ सय ५ खेलाडीमा बोली लगाउने छन् । टोलीहरूमा कुल ८७ खेलाडीको लागि ठाउँ खाली छ । गत आइपिएलअघि मेगा अक्सन भएकाले यसपटक मिनी अक्सन हुन लागेको हो ।
गत संस्करणमा २ नयाँ टोली लखनऊ सुपरजायन्ट्स र गुजरात टाइटन्स थपिएका थिए । जसकारण सबै टोलीलाई समान अवसर दिन २ दिने मेगा लिलामी भएको थियो ।
यसपटक भने अक्सन एक दिन मात्र हुनेछ । मेगा अक्सनअघि टोलीले ३/३ खेलाडी मात्रै राख्न पाएका थिए । त्यसपछि १० टोलीलाई २२० खेलाडी आवश्यक परेका थिए । तर, यसपटक लिलामीअघि टोलीले धेरै खेलाडीलाई रिटेन गरिसकेका छन् । यस्तो अवस्थामा १० टोलीलाई ८७ खेलाडी मात्र आवश्यक परेको छ ।
गत संस्करण भएको मेगा अक्सनका लागि एक टोलीलाई ९० करोडसम्म खर्च गर्न पाउने नियम थियो । यसपटक ५ करोड भारु बढाइएको छ । अर्थात् २५ खेलाडीको टिम बनाउन टोलीले बढीमा ९५ करोड रुपैयाँ खर्च गर्न सक्नेछन् ।
आइपिएलमा सबै टिमले १८ देखि २५ खेलाडी टिममा राख्न पाउँछन् । यसमा बढीमा ८ विदेशी खेलाडी हुने छन् । आगामी सिजनका लागि सनराइजर्स हैदरावाद (१३), कोलकाता नाइट राइडर्स (११) र लखनऊ सुपर जायन्ट्स (१०) लाई सबैभन्दा बढी खेलाडी आवश्यक परेको छ ।
मिनी अक्सनका लागि सबैभन्दा कम रकम कोलकाता (७.०५ करोड) सँग बचेको छ । उसले आफ्नो टोली पूरा गर्न यो रकममा कम्तीमा ४ खेलाडी किन्नुपर्ने हुन्छ । त्यस्तै, मिनी अक्सनका लागि सबैभन्दा बढी हैदराबाद (४२.२५ करोड) सँग रकम बचेको छ । त्यस्तै, रोयल च्यालेन्जर्स बैंगलोरसँग ८.७५ करोड मात्रै छ ।
यसपटकको मिनी अक्सनका लागि ९९१ खेलाडीले दर्ता गरेका थिए । जसमा ७१४ भारतीय र २७७ विदेशी खेलाडी थिए । सबै ९९१ खेलाडीको नाम फ्रेन्चाइज टोलीलाई पठाइएको थियो । ९९१ मध्ये ४०५ खेलाडीको नाम मात्र अक्सनमा देख्न पाइनेछ । यीमध्ये २७३ भारतीय र १३२ विदेशी खेलाडी छन् ।
विदेशी खेलाडीमध्ये ४ जना एसोसिएट देशका पनि छन् । जसमध्ये १२३ अन्तर्राष्ट्रिय र २८२ अनक्याप्ड (अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्न बाँकी) खेलाडी छन् । यसपटक नेपालबाट भने कुनै पनि खेलाडी अक्सनमा छैनन् ।
१६ औं संस्करणको आइपिएलमा कुल ७४ म्याच खेलाइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी आइपिएल संस्करण मार्चको तेस्रो साता सुरु भएर मे महिनाको अन्त्यमा सकिनेछ ।
गत सिजनको आइपिएल २५ मार्चबाट सुरु भएर २९ मेमा सकिएको थियो । १५ औं संस्करणको आइपिएल उपाधि गुजरात टाइटन्सले जितेको थियो ।
नोट : ‘आइपिएलको मिनी अक्सन शुक्रबार, ४०५ खेलाडीमा लाग्नेछ बोली’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।