नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता आज चयन गर्ने भएको छ । दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले दलको नेता चयन गर्न लागेको हो ।
प्रधानमन्त्रीको दाबेदारका रूपमा पनि प्रस्तुत गर्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दलको नेता बन्ने पक्का जस्तै छ । सांसद रेखा शर्माका अनुसार संसदीय दलको नेतामा प्रचण्डबाहेक अन्य नेताहरूको दाबी छैन ।
प्रचण्ड नै सर्वसम्मत दलको नेता चयन हुने शर्माले जानकारी दिइन् । माओवादी केन्द्रले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सिट जितेको छ ।
माओवादीको संसदीय दलको नेता चयनसँगै सत्ता गठबन्धनले औपचारिकरूपमा सरकार गठनको तयारी थाल्नेछ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले बुधबार निर्वाचनमार्फत् संसदीय दलको नेता छानेको थियो ।
यसपटक पनि कांग्रेसको संसदीय दलमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा विजयी भए । उनी प्रतिस्पर्धी गगन थापालाई ३९ मतान्तरले हराउँदै संसदीय दलको निर्वाचनमा विजयी भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।