आइपिएल अक्सनमा साम करन १८ करोडमा बिक्री हुन सक्छन् : आकाश चोपडा

१६ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को मिनी अक्सन आज हुँदैछ । यसपटकको अक्सनमा इंग्ल्याण्डका युवा अलराउण्डर साम करनले महँगो मूल्य पाउने अनुमान गरिएको छ । पछिल्लो समय उच्च लयमा रहेकाले उनले अक्सनमा महँगो मूल्य पाउने अनुमान गरिएको हो ।  

यसैबीच, भारतीय पूर्वक्रिकेटर तथा वर्तममान कमेन्टेटर आकाश चोपडाले पनि करनले अक्सनमा कीर्तिमान मूल्य पाउनसक्ने अनुमान गरेका छन् । 

‘यसपटक साम करनका लागि दुईवटा टोलीले उच्च बोली लगाउन सक्छन् । जसमध्ये एउटा पञ्जाब किंग्स र अर्को सनराइजर्स हैदराबादको टोली हो । हैदराबादलाई उनको आवश्यकता छैन । मलाई विश्वास छ पञ्जाब किंग्स होस् वा चेन्नई सुपर किंग्स होस् उनी किंग्सको टोलीमा जाने छन् । पञ्जाबसँग धेरै पैसा छ । त्यसैले करन त्यहाँ जाने सम्भावना बढी छ,’ आकाशले आफ्नो युट्युब च्यानलमा भनेका छन् ।

उनले यसपटक करन आइपिएल इतिहासकै सर्वाधिक महँगा खेलाडी बन्ने दाबी पनि गरे । ‘मेरो अनुमानमा साम करन लिलामीमा सबैभन्दा महँगो खेलाडी साबित हुन सक्छन् । उनको लागि १६–१८ करोडको बोली लाग्न सक्छ । उनले १६ करोड २५ लाखको कीर्तिमान पार गर्न सक्छन् । उनी कुनै पनि टोलीका लागि उत्कृष्ट खेलाडी साबित हुनेछन्,’ आकाशले भनेका छन् ।

यही वर्ष अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा करनले उत्कृष्ट प्रदर्शन गरेका थिए । बायाँ हाते तीव्र गतिका बलर उनले प्रतियोगितामा ६ खेलमा ११.३८ को औसतमा १३ विकेट लिएका थिए । 

फाइनलमा करनले चार ओभरमा १२ रन दिएर तीन विकेट लिएका थिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए ।





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ८:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया