सुदूरपश्चिममा भुवा पर्वको राैनक
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरु भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरु हुन्छ । 

पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ । द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ ।

खप्तडछान्ना गाउँपालिका–५ का माधवप्रसाद जोशीका अनुसार सिन्धुघाँटीको सम्भतादेखि प्राचिन नेपाली समुदायमा भुवो पर्व मनाइँदै आएको छ । सुदूरपश्चिममा जुम्ला सभ्यता छिटो फैलँदै आएका जिल्लामा भुवा पर्व मनाउने गरेको उहाँले बताउनुभयो । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको संघर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन रहेको छ । 

वनबास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरेको उनले बताए । ‘बढीजसो पाण्डव पुगेको ठाउँमा कतै ढुङ्गा बोकेको, कतै खनेको, केही आकृतिका ढुङ्गा गाडेकोजस्ता चिनारी छोडेको ठाउँमा यो पर्व बढी मनाउँछन्,’ उनले भने ।

पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन् । ‘आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वको जगेर्ना गर्नुपर्छ, ‘जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले भने, ‘पहिचान जोगाउनका लागि अहिले धेरै स्थानीय सरकार आफैँ अग्रसर भएका छन् । हामीले पनि पर्वको संरक्षणका लागि आर्थिक सहयोग गर्दै स्थानीयलाई आग्रह गरेका छौँ ।’ 

भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ । यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइन्छ । कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ । 



बडिमालिका नगरपालिका–१ पाटा बाजुराका यज्ञराज पण्डितका अनुसार घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ ।  



  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १०:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया