कांग्रेससँग सहमति नजुटे एमालेसँग हात मिलाउँदै प्रचण्ड

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको सपथग्रहण गरेसँगै दलहरू नयाँ सरकार गठनको गृहकार्यमा थप व्यस्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तोकेको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि दलका शीर्ष नेताहरूमा दबाब बढेको छ ।

राष्ट्रपति भण्डारीले १० पुसको अपरान्ह ५ बजेभित्र दलहरूलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न समय दिएकी छन् । राष्ट्रपतिले निर्धारण गरेको समय आउन दुई दिन बाँकी रहँदा पनि दलका शीर्ष नेताहरूबीच भने सहमति जुट्न सकेको छैन । 

४ मंसिरमा सम्पन्न निर्वाचनबाट कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन् । जसकारण पनि प्रधानमन्त्रीका लागि दाबी पेस गर्न विलम्ब हुने देखिएको हो । सरकारको नेतृत्वका लागि विशेषगरी अहिले सत्ता गठबन्धनमै आबद्ध दलका शीर्ष नेताबीच छलफल भइरहेको छ । यद्यपि आफ्नो अडानमा लचिलो नबन्दा उनीहरूबीच सहमति जुट्न सकिरहेको छैन ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पहिलो दुई वर्ष आफ्नो नेतृत्वमा सरकार हुनुपर्ने दाबी गर्दै आएको छ । गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि सोही दाबी गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न सकेको छैन । 

कांग्रेस आफ्नो अडानबाट लचिलो नबने प्रधानमन्त्रीका लागि प्रचण्डले विकल्प खोज्ने संकेत पनि दिएका नेताहरू बताउँछन् । शुक्रबार बिहान मात्र कांग्रेस नेता प्रकाशमान सिंहसँगको भेटमा प्रचण्डले पहिलो कार्यकालमा आफू प्रधानमन्त्री हुनुपर्ने बताएका थिए ।  

कांग्रेसले पहिलो कार्यकालमा माओवादीलाई प्रधानमन्त्री नछोडे प्रचण्ड एमालेसँगको संवादलाई पनि अगाडि बढाउने मनस्थितिमा पुगेका बताइएको छ । एमाले पनि माओवादीलाई सहमतिमा ल्याएर सरकारमा जान इच्छुक रहेको देखिन्छ । 



पछिल्लो समय ओलीसँग प्रचण्डको सम्बन्ध पनि केही सुध्रिएको नेताहरू बताउँछन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा पनि शपथग्रहणपछि आयोजित चियापान कार्यक्रममा ओली र प्रचण्डबीच संक्षिप्त कुराकानी भएको थियो । सो कुराकानीले पनि यी दुई पूर्वप्रधानमन्त्रीबीचको सम्बन्ध केही सुधार भएको संकेत देखिन्छ । 

एमालेलाई दोस्रो विकल्पमा राखेका प्रचण्डको पहिलो प्राथमिकता भने वर्तमान गठबन्धन नै हो । सकेसम्म देउवासँग सहमति जुटाउने यदि उनी तयार भएनन् भने चाहिँ प्रचण्ड एमालेसँग हात मिलाउने आन्तरिक तयारीमा जुटेका छन् । गठबन्धनमा सहमति जुटाउन प्रमुख तीन शीर्ष नेताहरू देउवा, प्रचण्ड र नेपाल निरन्तर छलफलमा छन् । उनीहरूबीच बिहीबार बालुवाटरमा पनि प्रधामनन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत पदका विषयमा सहमित जुटाउन छलफल भएको हो । 



तिनै नेता पहिले प्रधानमन्त्री पदको भागबण्डा टुंग्याएर मात्र अन्य पद बाँडफाँटको तयारीमा छन् । आज पनि गठबन्धनका शीर्ष नेताहरूबीच पद बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । 

अहिले कुनै पनि दलले स्पष्ट बहुमत हासिल नगरेकाले राष्ट्रपतिले उपधारा (२) अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थन लिएर प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेकी छन् । गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले ५७ प्रत्यक्ष ३२ समानुपातिक गरी ८९ सिट जितेको छ । 

त्यस्तै, एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२,  एकीकृत समाजवादी पार्टीले १०, जनमत पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक सिट जितेका छन् । त्यस्तै, पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

पाँच दलीय गठबन्धनसँग अहिले कुल १३६ सिट छ । बहुत पुर्याउन गठबन्धनलाई अझै दुई सिट आवश्यक छ । पाँच दलबीच सहमति जुटेमा सत्ता गठबन्धनले दुई सिटका लागि स्वतन्त्र सांसद वा जनमत पार्टीलाई सरकारमा ल्याउने सम्भावना छ ।    

  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १२:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया