गठबन्धन बैठकअघि कांग्रेस र माओवादीका शीर्ष नेताहरू आन्तरिक छलफलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही ३ पुसमा एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।

पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्ष नेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन् । 

गठबन्धनका शीर्षनेताको बैठकअघि कांग्रेस र माओवादीका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् । अहिले बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरू र खुमलटारमा माओवादीका शीर्ष नेताहरू गठबन्धन बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न छलफल गरिरहेका छन् । दुवै पार्टीका नेताहरूको छलफलपछि मात्र गठबन्धनको बैठक बस्ने तयारी छ ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि १० पुस साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । 

यसपटकको निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा (एमाले) ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।  





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १०:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया