आइतबार दिउँसो बालुवाटारबाट ‘केही बेरका लागि’ निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार फर्किएर फेरि कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेनन् ।
यी दुईको भेट भयो, सोमबार शीतल निवासमा । शीतल निवासमा प्रचण्ड प्रधानमन्त्रीको रुपमा सपथ लिइरहेका थिए भने देउवा आफ्नो जिम्मेवारी प्रचण्डलाई ‘सरप्राइज’का रुपमा सुम्पिन परेकाले आश्चर्यचकित मुद्रामा देखिन्थे ।
आइतबार दिउँसो जसै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य पाँच दलका नेताहरुलाई लिएर शीतल निवासमा प्रचण्ड पुगे, त्यसले नेपाली राजनीतिक क्षेत्रमा ठूलो तरंग ल्यायो । अहिलेसम्म त्यसको कम्पन नेपाली राजनीतिक चियोचर्चोमा देखिँदै आएको छ । ४ मंसिरको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसलाई केन्द्रमा मात्र होइन, सातै प्रदेशमा प्रतिपक्ष बनाइदिएको प्रचण्डको मुभको विषयमा थप केही समय पक्कै चर्चा हुनेछ ।
प्रचण्डले आइतबार प्रधानमन्त्रीका लागि दाबी पेश गरे, आइतबार नै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरियो । तर, यतिबेला सम्म को अर्थमन्त्री बन्ला भन्ने विषयमा कसैले टुंगो लगाउन सकेको थिएन ।
सोमबार दिउँसोसम्म पनि अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रकै जनार्दन शर्मा दोहोरिन सक्ने अनुमान थियो । प्रचण्डको रोजाइमा वर्षमान पुन पनि अर्थमन्त्री हुनसक्ने अनुमान धेरैले गरेका थिए । यसले नेपाली बजारमा लगानीकर्तालाई खासै खुसी बनाउन सकेको थिएन ।
तर, जसै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री हुँदै नेकपा एमालेबाट सरकारको नेतृत्व गर्दैछन् भन्ने समाचार बाहिरियो, यसले लगानीकर्तालाई खुसी दिएको छ, सेयर बजारमा हरियाली छाएको छ ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरको समयमा उनले सेयरबजारबारे दिएका विभिन्न अभिव्यक्तिले सेयर बजारमा ठूलो गिरावट आएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाली सेयरबजारले खासै उपलब्धिमूलक समय देख्न पाएको छैन । यसको कारणका रुपमा जनार्दन शर्माको मात्र होइन, प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पनि काम गरेको सेयर विश्लेषकहरुले बताउने गरेका छन् ।
सोमबार कार्यभार सम्हाल्दै विष्णु पौडेलले नतिजामुखी भएर काम गर्ने मात्र बताएनन्, बिग्रिएको अर्थतन्त्र सम्हाल्न सबैको जिम्मेवारी रहने बताउँदै आफू कठिन समयमा मन्त्रालयका आएको र आफूमाथि ठूलो दायित्व रहेको बताएका छन् ।
सोमबार उनी अर्थमन्त्री हुँदा सेयर मार्केट क्लोज भइसकेको थियो । तैपनि उनी अर्थमन्त्री हुने चर्चा चलेसँगै सेयर बजारमा हरियाली देखिएको थियो ।
त्यसो त नेपालमा यसअघि सेयर बजारले उच्च बिन्दू चुम्दा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले नै सम्हाल्ने गरेका थिए । २०७२ सालमा जब सेयर बजारले तत्कालीन समयको उच्चबिन्दू १८८१ सम्म पुगेर छलाङ मारेको थियो, अर्थमन्त्री थिए पौडेल ।
२०७४ सालको निर्वाचनपछि देशमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले डा. युवराज खतिवडाले । तर, नेपाली बजारले उनलाई पत्याएन । अर्थतन्त्रका ज्ञाताका रुपमा समेत चिनिने खतिवडालाई समेत सेयर बजारले पत्याएन । उनको कार्यकाल सकिएपछि जसै विष्णु पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले, नेपाली सेयर बजारमा अर्को उत्साह छाएको थियो । त्यति बेला पनि सेयर बजारमा हरियाली छाएको थियो ।
यसपटक पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सेयर बजार ३२०० को बिन्दूमा पुगेको थियो । यो नेपाली सेयर बजार सबैभन्दा उच्च बिन्दूमा पुगेको समय हो ।
५८ लाखभन्दा बढी लगानीकर्ता रहेको सेयर बजार अहिले पनि विष्णु पौडेल अर्थमन्त्री भएपछि निकै उत्साह छाएको मानिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।