अमेरिकामा हिमआँधी : कम्तिमा ३४ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीमा ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यका ३४ जनाको मृत्यु भएको हो । 

देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी साधन सञ्चालन गर्न कठिन भएको छ । अति चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा छन् । हजारौं घर बिजुलीविहीन बनेका छन् । बिजुली नभएपछि कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।  

न्युयोर्कका गर्भनर क्याथी होचुलले सवारीसाधन नचलाउन सर्वसाधारणलाई आग्रह गर्दै सवारी साधन सञ्चालनमाथिको प्रतिबन्ध मङ्गलबार बिहानसम्म जारी रहने बताएकी छन् । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । मोटरकारहरू हिउँले पुरिएका छन् । 

राष्ट्रिय मौसम विज्ञान विभागका अधिकारीहरूले  सोमबार बिहानसम्म व्यापक हिमपात हुने चेतावनी दिएका छन् । मोटरमा फेसकाहरूको उद्धार गर्न उद्धारकर्तालाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण न्युयोर्कमा दुई जनाले ज्यान गुमाएका तथा बफेलोमा १० जनाको मृत्यु भएको छ । 

गत शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो । ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका गत साताका भयानक दुर्घटना भनेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका थिए ।  





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ६:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया