पोखराद्वारा लुम्बिनीलाई १३४ रनको लक्ष्य, कुशलको आक्रामक ब्याटिङ

पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

उसका लागि युवा अलराउन्डर कुशल मल्लले उत्कृष्ट पारी खेले । ३१ बलको सामना गरेका उनले पाँच चौका र पाँच छक्कासहित ६१ रन बनाए । कुशलले २४ बलमा अर्धशतक पूरा गरेका थिए ।

योसँगै उनी जारी लिगमा कम बलमा अर्धशतक बनाउने ब्याटरसमेत बने । त्यस्तै, उपुल थरंगाले ५१ बलमा दुई चौका र एक छक्कासहित ४२ रन जोडे । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि शेड्ले भ्यान शाल्कविकले तीन, गुल्शन झा, किशोर महतोले दुई/दुई, सागर ढकाल र हरमित सिंहले एक/एक विकेट लिए ।    

पोखरा पहिलो जितको खोजीमा छ । ऊ पहिलोमा खेलमा काठमाडौं नाइट्स र दोस्रो म्याचमा जनकपुर रोयल्ससँग पाराजित भयो । अंकविहीन रहेको पोखरा तालिकाको पुछारमा रहेको छ । लुम्बिनी भने पोखरालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

लुम्बिनीले पहिलोमा फारवेस्ट युनाइटेडलाई ६७ तथा दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो । लुम्बिनी २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १०:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया