नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा एमालेको नेतृत्व गरेर जाने अनुमान धेरैले गरेका थिए । हुन पनि उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मिलेर सरकार बनाउनु पर्ने जोड दिँदै आएका नेता थिए ।
निर्वाचनको नतिजा आएको केही दिनमा नै पृथ्वीसुब्बा गुरुङले सामाजिक सन्जाल फेसबुकमा एउटा लामो स्टाटस पनि लेखेका थिए । उनले त्यसमा वामपन्थी दलहरु मिलेर अबको सरकार बनाउनु पर्ने र देशलाई स्थायीत्व दिनु पर्ने भन्दै केही टिप्स दिएका थिए ।
लमजुङबाट नेकपा माओवादी केन्द्रका नेता देव गुरुङलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो जित दर्ज गरेका गुरुङले गण्डकी प्रदेशमा पहिलो मुख्यमन्त्री भएर अनुभव सम्हालिसकेका थिए । त्यसैले उनले यसपटक पनि प्रदेशमा नै आफूलाई निर्वाचनमा होम्न चाहन्थे, फेरि मुख्यमन्त्री भएर काम गर्न चाहन्थे । तर, उनले सोचेजस्तो भएन । पार्टीले उनलाई प्रतिनिधि सभामा टिकट दियो ।
उनले नेकपा एमालेको पहलमा केन्द्र र सबै प्रदेशमा सरकार बनाउनु पर्ने र दक्षिणपन्थी गठबन्धनलाई तोड्नु अहिलेको आवश्यकता भएको बताएका थिए ।
‘तत्काल एकता हुन नसके पनि कार्यगत एकतासहित अगाडि बढ्दा संघ र सातवटै प्रदेशमा एमालेले वामपन्थीहरुको सरकार बनाउने सामथ्र्य राख्छ,’ उनले त्यति बेला एक कार्यक्रममा पनि भनेका थिए ।
काठमाडौंमा गुरुङ यही आफ्नो अडानमा कायम रहेका थिए । उनले यसबीचमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङसँगै बारम्बार भेट गरेर एमाले र माओवादी केन्द्र मिलेर अगाडि बढ्नु पर्ने विषयमा छलफल गरेका थिए । नेकपा एमालेका एक नेताका अनुसार गुरुङकै कारण माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग एमालेको सम्पर्क बढी हुँदै गएको थियो ।
एमाले र माओवादीको गठबन्धन गराउन महत्त्वपूर्ण भूमिका खेलेकाले पनि गुरुङले सोमबार नै एमालेको नेतृत्व लिएर सरकारमा जाने र मन्त्री पदको सपथ लिने एमालेकै केही नेताहरुले अनुमान गरेका थिए । तर, कांग्रेस नेतृत्वको गठबन्धनलाई भत्काएर अहिलेको सत्ता गठबन्धन बनाउन प्रभावकारी भूमिका खेलेका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले गुरुङलाई पछाडि पारेर सरकारमा एमालेको नेतृत्व गर्दै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
नेकपा माओवादी केन्द्रका प्रचण्डलाई सरकारमा समर्थन गर्दा भएकाे भागवण्डाअनुसार सभामुख र राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भइसकेकाे छ ।
पौडेल अर्थमन्त्री भए पछि गुरुङले यो सरकारमा मन्त्रीका रुपमा सहभागी नहुने तर सभामुख हुने चाहना राखेको नेकपा एमालेका एक नेताले बताए ।
‘हुन त अहिले एमालेमा उहाँहरु दुवै जना एउटै टिमको हो र विष्णु पौडेल गुरुङभन्दा सिनियर पनि हो,’ एमालेका ती नेताले फरकधारसँग भने, ‘तर, पौडेल मन्त्री भएपछि गुरुङले मन्त्री हुने चाहना त्यागिसकेका छन्, उनी अब सभामुख बन्न चाहन्छन् ।’
नेकपा एमालेको शीर्ष नेतृत्वमा पनि गुरुङलाई सभामुख बनाउने विषयमा छलफल भएको छ । सभामुखका लागि नेकपा एमालेका छविलाल विश्वकर्माको नाम पनि अगाडि आएको छ । ‘उहाँहरु दुई जनामा बढी सम्भावना गुरुङको नै देखिन्छ,’ एमालेका ती नेताले फरकधारलाई बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।