नेपाल टी–२० लिगमा लुम्बिनीको लगातार तेस्रो जित

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा उसले मंगलबार पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टायो । उसका लागि शाड्ले भ्यान शाल्कविक नायक सावित भए । 

अन्तिम बलमा लुम्बिनीलाई जितका लागि ५ रन आवश्यक थियो । खेल पोखराले जित्ने सम्भावना बढेको थियो । तर, शाल्कविकले छक्का हिर्काउँदै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए ।

उनले ११ बलमा चार छक्कासहित अविजित ३१ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले २८ बलमा चार चौका र दुई छक्कासहित ३९ रनको पारी खेले । उन्मुक्त चन्दले २२, अनिल साहले १९ र गुल्शन झाले १० रन जोडे । लुम्बिनीका लागि कुशल मल्ल, विपिन खत्रीले दुई/दुई, जाहिर खान, अभिमन्यू मिथुन र प्रतिश जिसीले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका लागि युवा अलराउन्डर कुशल मल्लले उत्कृष्ट पारी खेले । ३१ बलको सामना गरेका उनले पाँच चौका र पाँच छक्कासहित ६१ रन बनाए । कुशलले २४ बलमा अर्धशतक पूरा गरेका थिए ।

योसँगै उनी जारी लिगमा कम बलमा अर्धशतक बनाउने ब्याटरसमेत बने । त्यस्तै, उपुल थरंगाले ५१ बलमा दुई चौका र एक छक्कासहित ४२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि शेड्ले भ्यान शाल्कविकले तीन, गुल्शन झा, किशोर महतोले दुई/दुई, सागर ढकाल र हरमित सिंहले एक/एक विकेट लिए ।   



लुम्बिनीले तीन खेलबाट ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । उसले पहिलोमा फारवेस्ट युनाइटेडलाई ६७ तथा दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो ।  

अंकविहीन रहेको पोखरा तालिकाको पुछारमा रहेको छ । ऊ पहिलोमा खेलमा काठमाडौं नाइट्स र दोस्रो म्याचमा जनकपुर रोयल्ससँग पाराजित भएको थियो ।  



  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १२:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया