निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । निजी क्षेत्रको दुवै संस्थाले गरेको छुट्टा–छुट्टै भेटमा अर्थतन्त्रको अवस्था कमजोर हुँदै गएकोले सुधारको लागि आवश्यक पहल गर्न माग गरेका छन् ।
निजी क्षेत्रले नेपाल राष्ट्र बैंकले कात्तिकदेखि लागू गरेको चालू पुँजी कर्जा कम्तीमा २ वर्षलाई स्थगन गर्न माग गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकोतर्फबाट अर्थतन्त्रको अवस्था सुधार गर्न आवश्यक पहल गरिदिन माग गरे । गोल्छाले प्रधानमन्त्री आफैँ मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार भएको भन्दै महासंघले पनि यसअघि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराए ।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तिमा दुई वर्ष स्थगन गर्न माग गरे । उनले हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिए । यतिखेर अरू कुराभन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए ।
अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको बताए । उनले त्यसको अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे ।
मंगलबार बिहानै प्रधानमन्त्री भेटेको नेपाल उद्योग परिसंघ (सीएनआई)ले पनि अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने गरी काम गर्न सुझाव दिए ।
परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्रीसमक्ष पेश गरेको छ । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास परिसंघका अध्यक्ष विष्णु अग्रवालले गरे ।
निजी क्षेत्रसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । उनले अर्थतन्त्र सुधारका लागि काम गर्ने सरकारको प्राथमिकता भएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।