काकीको वीभत्स हत्या आरोपमा युवक पक्राउ

आफ्नै काकीको वीभत्स हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ बेलापट्टी बस्ने २० वर्षीय दिलीप साह रहेका छन् । 

आइतबार साँझ ५ बजे विदेह नगरपालिका–७ बस्ने श्रीराम साहकी ३० वर्षीया श्रीमती कविता देवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागेर मृत्यु भएको भनिएको थियो । उनका १४ महिनाका छोरा कार्तिक कुमार साह घाइते भई उपचारका लागि काव्या अस्पताल जनकपुरधाममा ल्याइएका थिए । 

मृतकका श्रीमान् श्रीरामले सुरुमा करेन्ट लागेर कविताको मृत्यु भएको भने पनि प्रहरीले घटना शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको अनुसन्धान टोलीले मृतक कविताको अनुहारमा गम्भीर चोट लागेर रक्ताम्मे तथा अर्धनग्न अवस्थामा शव रहेकोमा विशेषज्ञसहितको टोली घटनास्थलमा ल्याएर अनुसन्धान गर्दै जाँदा मृतकको जेठाजुका छोरा दिलिपलाई शंकास्पद अवस्थामा पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ परेका दिलीपको हातको बुढी औँला तथा घाँटीको भागमा स–साना चिथोरिएको जस्तो दाग देख्नुका साथै उनको शरीर खानतलासी गर्दा अन्डर वेयरभित्र कविताले प्रयोग गर्ने मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीबहादुर क्षेत्रीले जानकारी दिए । 

साहले घटनाका बेला लगाएको जिन्स पाइन्ट र भेस्ट पनि रगत लागेको अवस्थामा उनको झोलाभित्र फेला परेको डिएसपी क्षेत्रीले बताए । पक्राउ परेका साहलाई जिल्ला आदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार २१:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया