राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्तमान सरकारमा कुनै हालतमा जान नहुने बताएका छन् । साथै, उनले सरकारलाई समर्थनको निरन्तरताका लागि तीन शर्त पनि उल्लेख गरेका छन् ।
मिश्रले संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले धर्म निरपेक्षताबारे संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्न शर्त राखेका छन् ।
उनले उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गनुपर्ने पनि शर्त राखेका छन् । मिश्रले १७ पुसलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस घोषणा गर्नुपर्ने शर्तसमेत राखेका छन् ।
उनले प्रचण्डबारे आफ्नो पुरानो व्यक्तिगत धारणा यथावत् नै रहेको पनि उल्लेख गरेका छन् ।
‘समर्थनका सम्वन्धमा बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गर्ने निर्णय गरेको हो । तर राप्रपाको बैठकले निर्णय गरिसक्दा बाहिर अरू केहीले पनि समर्थन गरि सकेछन्, जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्यो, जुन साँचो हो । तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकसित भएको थियो,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डबारेको मेरो पुरानो धारणा यथावत् छ । प्रचण्ड ‘पेण्डुलम’ नै हुन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।