नेपाल टी-२० लिग : लुम्बिनी सुपर ओभरमा विजयी, फार वेस्टको दोस्रो हार

पहिलो संस्करणको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार चौथो हात पारेको छ । चौथो जित हात पार्ने क्रममा उसले बुधबार फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हरायो । 

फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य लुम्बिनीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै लुम्बिनीले १९ रन बनायो । २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रन मात्र बनाउन सक्यो । निर्धारित २० ओभरमा खेलमा १ सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि युवा अलराउन्डर गुल्शन झाले ३४ बलमा तीन चौका र एक छक्कासहित अविजित ३६ रन बनाए ।  त्यस्तै, लाहिरु मिलन्थाले ३४, विपुल शर्माले ३१ रनको पारी खेले ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । फार वेस्टका लागि करण केसी, शेर मल्लले दुई/दुई, भुवन कार्की, उमेर अली, राशिद खान र हसमतुल्लाह शाहिदीले एक/एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । उसका लागि देव खनालले ४२ बलमा पाँच चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए ।

त्यस्तै, कप्तान हसमतुल्लाह शाहिदीले ३२, भीम सार्कीले १५, करण केसीले अविजित १२, विनोद भण्डारी र हसिम अन्सारीले ११/११ रन जोडे । लुम्बिनीका लागि शेड्ले भ्यान शाल्कविकले दुई, सागर ढकाल, किशोर महतो र हरमीत सिंहले एक/एक विकेट लिए । 



तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले चार खेलबाट ८ अंक जोडिसकेको छ । फार वेस्टले तीन खेलमा दुईमा हार र एक खेलमा मात्र जित हात पारेको छ । ऊ २ अंकका साथ तालिकाको चौथो स्थानमा छ । आजै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स खेल्दै छन् । 



  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १२:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया