सत्ता साझेदार दलको संयोजकमा ओली, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलको संयोजकमा चयन भएका छन् । आज बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजकमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए ।

‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ । यसका लागि हामीले संयोजक तोकेका हौँ,’ लामिछाने भने । 

उनका अनुसार ओली नेतृत्वको समितिमा अन्य दलका सदस्य पनि सहभागी हुनेछन् । पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको गृहमन्त्री लामिछानेले बताए । मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने उनको भनाइ छ ।  

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । जसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्  ।





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ११:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया