के एमालेले माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेको हो ?

सरकार बनाउन एकाएक समीकरण बदलिए पछि अहिले सत्ता सन्चालनका लागि निर्णायक बनेको छ, संसदको दोस्रो ठूलो दल नेकपा एमाले । 

४ मंसिरमा भएको निर्वाचनअघि वाम लोकतान्त्रिक गठबन्धन १५ वर्षभन्दा बढी टिक्ने दाबी गरे पनि अन्तिममा आफू प्रधानमन्त्री हुनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘चतुर’ चाल चाले । उनले निर्वाचनअघि तेस्रो शक्ति भए पनि आफू निर्णायक हुने बताएका थिए । 

उनको यो अभिव्यक्तिको सबैभन्दा बढी आलोचना गरेका थिए, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । 

तर, एक साताअघि बालुवाटारबाट केही बेर खुमलटारका लागि हिँडेका प्रचण्डले तिनै ओलीको साथ लिए । संसदमा तेस्रो दल भए पनि सात दलको गठबन्धन बनाएर उनी प्रधानमन्त्रीमा नियुक्त भए । अबको केही समयपछि उनले संसदमा विश्वासको मत लिनेछन् । विश्वासको मत लिँदा उनले अर्को दल नेकपा एकीकृत समाजवादीले पनि आफूलाई समर्थन गरोस् भन्ने चाहेका छन् ।

यसका लागि उनले पटकपटक माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् । उनको प्रस्तावमा माधवकुमार नेपाल सकारात्मक भएको बताइएको छ । उनको पार्टी नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । यो बैठकले आइतबारसम्म सरकारमा जाने या नजानेबारे निर्णय गर्ने बताइएको छ ।

माधवकुमार नेपालको समर्थनका लागि प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसामु पनि एउटा प्रस्ताव अगाडि बढाएका छन्, त्यो हो माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने । 



सत्ता निर्र्माणका लागि गठबन्धन गर्दा नेकपा एमालेले राष्ट्रपति, सभामुखलगायतका पद पाउने सम्झौता भइसकेको छ । त्यसैले प्रचण्डको यो प्रस्तावमा ओली सकारात्मक छन् कि छैनन् भन्नेमा नेकपा एमालेकै नेताहरुको विभिन्न राय सुनिन थालेको छ । 

कतिसम्म भने नेकपा एकीकृत समाजवादी र नेकपा एमालेको एकताको सम्भावनासमेत बाहिर आउन थालेका छन् । नेकपा एमालेका नेता महेश बस्नेतले रिपोर्टस क्लबमा भएको कार्यक्रममा शनिबार आफूहरु वाम शक्ति एक होस् भन्ने अभियानमा लागेको बताएका छन् भने नेकपा एमालेकै उपमहासचिव प्रदीप ज्ञवालीले शनिबार नै रिटर्नी फेडेरेसनको कार्यक्रममा नेकपा एकीकृत समाजवादीसँग अहिले तत्काल एकताको सम्भावना नै नरहेको आशयमा अभिव्यक्ति दिएका छन् ।



नेकपा एकीकृत समाजवादीकै एक सांसदले भने माधवकुमार नेपाल राष्ट्रपति बन्न आतुर रहेको र उनले आफ्नो पदका लागि पार्टीलाई विलय गराउन पनि पछाडि नपर्ने फरकधारसँग बताए । ‘हिजो एमालेको प्रवृत्ति र एमालेमा नेतृत्वले समातेको बाटो गलत भएको भन्दै हामीले नयाँ पार्टी बनायौँ, गठबन्धन गरेर हामीले १० सिटमा जित निकाल्यौँ,’ नेकपा एकीकृत समाजवादीका ती सांसदले फरकधारसँग भने, ‘आज माधवकुमार नेपाल राष्ट्रपति बन्न लालयित देखिएका छन् । उनी हाम्रो पोलिटिकल यात्रालाई किल गर्न चाहन्छन् ।’

उनले यस्तो बताए पछि हामीले के नेकपा एमालेले नै माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेको हो भने ती सांसदलाई सोधेका थियौँ ।

‘एमालेले आफूले पाएको पद हाम्रो पार्टीलाई प्रस्ताव गर्ने कुनै सम्भावना नै छैन, प्रस्ताव गरेको छैन,’ ती नेताले भने, ‘तर, यस्तो हल्ला चलाएर माधवकुमार नेपालले हाम्रो राजनीतिक भविष्य समाप्त गर्ने प्रपञ्च रच्दै छन्, उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साथ दिँदै छन् ।’

माधवकुमार नेपालले आफूले राष्ट्रपति पाएमा पार्टी एकताका लागि पहल गर्ने समेत वचन प्रचण्डलाई दिएको ती नेताको दाबी छ । पार्टी एकता चाहिँ उनले माओवादी केन्द्रसँग नै गर्न चाहेको र यसका लागि यसअघि नै पार्टीमा छलफल भएर निर्णयसमेत भइसकेको उनले बताए ।

‘माओवादीसँग एकता गर्ने भन्ने त पहिले नै निर्णय भइसकेको हो,’ उनले भने, ‘माधवकुमार नेपाल राष्ट्रपति हुन पाए भने उनले अरुलाई बिर्सनेछन्, पार्टीलाई समेत तिलान्जली दिनेछन् ।’ तर, नेकपा माओवादी केन्द्रसँग एकता गरे नेपालले राष्ट्रपति पद पाउने सम्भावना झन् सकिने उनले बताए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित एक सांसदले माधवकुमार नेपाललाई राष्ट्रपति बनाए पार्टीभित्र विद्रोह हुनसक्ने बताए । पछिल्लो समय ओली र नेपालको अझै पनि सहिष्णु व्यवहार नभएको भन्दै उनले नेकपा एमालेले पाएको पद नेपाललाई कुनै हालतमा नदिइने समेत बताए ।

‘ओलीले नेपाललाई राष्ट्रपति बनाए भने उनको ठूलो पोलिटिकल ब्लन्डर हुनेछ,’ एमालेका ती सांसदले भने, ‘भोलि नेपालले ओलीलाई होइन, प्रचण्डको रबर स्टाम्प बनेर उनलाई साथ दिँदा नेकपा एमाले थप क्षयीकरण हुँदै जानेछ ।’ यो अवस्था राम्रोसँग बुझेको भएकाले पनि एमालेले अहिले राष्ट्रपतिमा नेपाललाई कुनै हालतमा प्रस्ताव नगर्ने उनको दाबी छ ।

  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १९:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया