काठमाडौं नाइट्सले राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा उसले आइतबार जनकपुर रोयल्सलाई ९० रनले हरायो । जनकपुरको यो दोस्रो हार हो ।
आफ्नो छैटौँ खेलमा काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । उसका लागि शराफुद्दीन अशरफले ३७, सोमपाल कामीले २१ र खडक बोहराले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
काठमाडौंका लागि अविनाश बोहराले ३.१ ओभरमा १३ रन दिएर चार विकेट लिए । त्यस्तै, अजमातुल्लाह उमरजाईले दुई, कमल सिंह ऐरी, अनिल खरेल र बसिर अहमदले एक/एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको मौका पाएको काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो । उसका लागि रयान बर्ल र सुनम गौतमले अर्धशतकीय पारी खेले । गौतमले ४७ बलमा चार चौका र चार छक्काको सहयोगमा ६२ रन बनाए ।
४० बलको सामना गरेका बर्लले चार चौका र तीन छक्काको मद्दतमा अविजित ६१ रन जोडे । त्यस्तै, एलेक्स ब्लेकले २० र अजमातुल्लाह उमरजाईले १० रनको योगदान दिए । जनकपुर रोयल्सका लागि जितेन्द्र मुखियाले तीन, शराफुद्दीन अशरफ र ट्रेभोन ग्रिफिथले एक/एक विकेट लिए ।
काठमाडौंसँगको हारले जनकपुर अंक तालिकाको शीर्ष स्थानमा पुग्न चुक्यो । ऊ ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको काठमाडौंले ५ खेलबाट ६ अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।