राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार तेस्रो जित हात पारेको छ । तेस्रो जित निकाल्ने क्रममा उसले सोमबार ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं नाइट्सलाई ५ विकेटले हरायो ।
आफ्नो आठौँ खेलमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि सुमित महर्जनले उत्कृष्ट पारी खेले । ५२ बलको सामना गरेका उनले सात चौका र तीन छक्काको मद्दतमा ७६ रन बनाए । त्यस्तै, कप्तान उपुल थरंगाले पनि अर्धशतकीय पारी खेले ।
४९ बलको सामना गरेका उनले पाँच चौका र एक छक्काको सहयोगमा ५८ रन बनाए । कुशल मल्लले अविजित १४ रन जोड्दा आसिफ शेख सात र आरिफ शेख शून्यमा आउट भए । कामाडौंका लागि कमल ऐरीले तीन, अनिल खरेल र अविनाश बोहराले एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो । उसका लागि एलेक्स ब्लेकले आक्रामक पारी खेले । २८ बलको सामना गरेका उनले तीन चौका र सात छक्कासहित ६४ रन बनाए ।
त्यस्तै, सुनम गौतमले ४५, वीरदीप सिंहले ३२ र रयान बर्लले अविजित १० रन जोडे । पोखराका लागि तुलबहादुर थापाले दुई, कुशल मल्ल र प्रतिश जीसीले एक/एक विकेट लिए ।
यो जितसँगै पोखरा एभेन्जर्स ६ अंकका साथ तालिको चौथो स्थानमा कायमै रहेको छ । जारी प्रतियोगितामा उसले ८ म्याच खेल्दा पाँचमा हार र तीन खेलमा जित निकालेको छ । काठमाडौं नाइट्स ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । उसले ६ खेलमा तीनमा जित र तीन म्याचमा हार बेहोरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।