सातौँ निर्यात दिवस : निर्यातमुखी अर्थतन्त्रको विकासमा जुट्न आग्रह

मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सकिने धारणा राखे ।

नेपाल निर्यात परिषदसहित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र भक्तपुर उद्योग वाणिज्य संघले संघले बुधबार भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा पूर्व वाणिज्यसचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुको उत्पादनमा विविधीकरणसँगै बजारीकरणमा पनि जोड दिनुपर्ने बताए । सरकारले निर्यातयोग्य भनी पहिचान गरेका वस्तुसँगै निकासीको सम्भावना भएका अन्य वस्तुको पनि पहिचान गर्दै निकासी बढाउनुपर्ने उनको भनाइ छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले निर्यात व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कारणले कमी आएको उल्लेख गर्दैै वस्तु विविधीकरणमार्फत यसलाई बढाउन सकिने धारणा राखे । खनालले निर्यात वृद्धिका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्न सकिने भन्दै यसमा तदारुकता देखाउन आग्रह गरे ।  

निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले स्थापनाकालदेखि नै परिषद्ले सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी निर्यात प्रवद्र्धनको माध्यमबाट देशको बढ्दो व्यापार घाटालाई कम गर्न अथक प्रयास गरिरहेको बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारहरुमा देखापरेका विविध समस्याहरुको कारण नेपाली वस्तुहरुको उत्पादन तथा निकासीमा समेत प्रत्यक्ष असर परेको बताए । 

यस्तै, सरकारलाई नेपालको बढ्दो व्यापार घाटाको वर्तमान अवस्था र देशको व्यापार सन्तुलन कायम गर्न आयात प्रतिस्थापन हुने गरी निर्यात वृद्धि गर्न समेत उनले आग्रह गरे । कार्यक्रमका सहभागी व्यवसायीहरुले नेपालमा उत्पादित वस्तुहरुको प्रतिष्पर्धा क्षमता अभिवृद्धि गरी निर्यात प्रवद्र्धनको माध्यमवाट सम्पूर्ण नेपाली वस्तुहरुको निर्यातमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य रहनुपर्ने धारणा राखे । 

निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरुको उद्योग प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा, निर्यात प्रवर्द्धन लगायत अन्य विविध पक्षहरुमा जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरी निर्यात बढाउन उनीहरुले माग गरे ।



हाल निर्यात वृद्धिका समस्याका रुपमा रहेका चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको अभाव सहित चर्को बैङ्गिक व्याजदर तथा .नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटलाई हटाउन माग गरियो ।

निर्यात वढाउनको लागि सरकारले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्यसहित निर्यात योग्यवस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषि सरह बैंकङ व्याज उपलब्ध गराउनुपर्ने माग परिषदले गरेको छ ।



यस्तै, नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसँग प्रतिस्पर्धी बनाउन निर्यातमूलक उद्योग व्यवसायको लागि कम्तिमा पनि १० वर्ष सम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनु पर्ने तथा विभिन्न देशहरुमा रहेका नेपाली दुतावासहरु र कुटनितिक नियोगहरु मार्फत नेपालका निर्यात योग्य वस्तुहरुको व्यापक रुपमा प्रचार प्रसार गराउने एवं विश्वव्यापी मान्यता प्राप्त आधुनिक ल्याब को स्थापना गर्ने माग परिषदको रहेको छ ।

परिषदको २५औँ वार्षिक साधारण सभा एवं सातौं निर्यात दिवसका अवसरमा पुस २१ र २२ गतेका दिन छायाँ सेन्टर, ठमेलमा नेपाली निकासीयोग्य वस्तुहरुको बृहत् मेला तथा प्रदर्शनीको आयोजना गरिने भएको छ ।
 

  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १७:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया