श्रीलंकाले भारतलाई हरायो, रोमाञ्चक बन्यो सिरिज

भारतविरुद्धको टी-२० सिरिजका दोस्रो खेलमा पाहुना टोली श्रीलंका १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंका जीवितै रहेको छ । पहिलो खेलमा ऊ २ रनले पराजित भएको थियो ।

भारतमा घरेलु टोलीविरुद्ध श्रीलंकाले २०१६ पछि टी–२० खेल जितेको हो ।  भारतले एक खेल अगावै सिरिज जित्ने मौका गुमायो । गएराति सम्पन्न दोस्रो खेलमा श्रीलंकाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९० रन बनायो । 

उसका लागि अक्षर पटेल र सूर्यकुमार यादवले उत्कृष्ट पारी खेले पनि टिमको हार टार्न सकेनन् । ३१ बलको सामना गरेका पटेलले ६ छक्का र तीन चौकाको मद्दतमा ६५ रनको आक्रामक इनिङ खेले । टी–२० करियरमा उनको यो पहिलो अर्धशतकीय पारी हो । 

यादवले ५६ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५१ रन बनाए । टी–२० मा उनको यो १३ औं अर्धशतक हो ।  त्यस्तै, शिवम मावीले २६ र कप्तान हार्दिक पाण्ड्याले १२ रन जोडे ।  

श्रीलंकाका लागि दिलशान मदुशंका, कप्तान दासुन शानका, कसुन रजिथाले दुई/दुई तथा चमिका करुणारत्ने र वानिन्दु हसरंगाले एक/एक विकेट लिए । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट संघ स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि कप्तान दासुन शानका र कुशल मेन्डिसले उत्कृष्ट पारी खेले । 

२२ बलको सामना गरेका शानकाले ६ छक्का र दुई चौकाको मद्दतमा अविजित ५६ रन बनाए । मेन्डिसले ३१ बलमा तीन चौका र चार छक्काको मद्दतमा ५२ रन बनाए । चरिथ असलंकाले ३७, पाथुम निसंकाले ३३ र चमिका करुणारत्नेले अविजित ११ रनको योगदान दिए । भारतका लागि उमरान मलिकले तीन, अक्षर पटेलले दुई र युजवेन्द्र चहलले एक विकेट लिए ।  



यो जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा स्थितिमा आएको छ । श्रीलंका–भारतबीचको निर्णायक खेल शनिबार राजकोटमा हुनेछ । 



  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार ७:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया