प्रचण्डलाई विश्वासको मत : राष्ट्रिय स्वतन्त्र पार्टी विभाजित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंगलबार संसदमा विश्वासको मत लिँदै छन् । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको समर्थन छ । 

प्रचण्डले विश्वासको मत लिने समय आउनै लाग्दा उनलाई समर्थन गरेका केही दलमा यस विषयमा चर्को बहस भइरहेको छ । विशेषगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा सहमति जुट्न सकेको छैन ।

रास्वपामा यो विषयलाई लिएर अहिले दुई खेमा देखिएको छ । उसका ९ सांसद प्रचण्डलाई कुनै पनि हालतमा विश्वासको मत दिनु हुँदैन भन्ने अडानमा छन् । ‘तत्काल हामीलाई जनताले प्रतिपक्षमा बस्नका लागि मत दिएका थिए । तर त्यसो हुन सकेन । सबैको चाहना नहुँदा पनि पार्टीका केही सांसदले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे । समर्थन मात्र नभएर पछि सरकारमै सहभागी भएर हामीले गल्ती महसुस गरेका छौँ । २६ पुसमा हामीले प्रचण्डलाई विश्वासको मत दिनु हुँदैन,’ रास्वपाका एक सांसदले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका ११ सांसद भने प्रचण्डलाई विश्वासको मत दिन इच्छुक छन् । सरकारमा जाने निर्णय गरिसकेकाले अब फर्किन नहुने उनीहरूको भनाइ छ । 

प्रचण्डलाई विश्वासको मत दिने विषयमा रास्वपाको संसदीय दलको बैठकमा पनि व्यापक छलफल भएको छ । रास्वपाको तर्फबाट अहिले सरकारमा पार्टी सभापति एवं सांसद रवि लामिछाने छन् ।

उनले ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएका थिए । विश्वासको मत लिएर मात्र बाँकी मन्त्रीको टुंगो लगाउने तयारीमा रहेका प्रचण्डले अहिले आठ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार ९:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया