बैद्यनाथ साहको यो कस्तो समाजसेवा?
एम्बुलेन्स पनि ठेक्कामा

जनकपुरधामका बैद्यनाथ साह आफूलाई अभियन्ता र समाजसेवीको रूपमा चिनाउँछन् । अझ उनी आफूलाई ‘सेवक बैद्यनाथ’ भन्न रुचाउँछन् । साह कहिले गरिबको सेवा, कहिले अस्पतालमा रहेका असहायको सेवा, कहिले कुनै गरिबको छोरीको बिहे त कहिले जानकी मन्दिरको सरसफाइमा आफू व्यस्त रहेको कुरा समयसमयमा सामाजिक सञ्जालमार्फत देखाउन खोज्छन् । 

बैद्यनाथले असहायहरूको सेवा गर्ने भावनाका साथ जनकपुरधाममा ‘असहाय संरक्षण मञ्च’ नामक सामाजिक संस्था पनि खोलेका छन् । गरिब, दिन दुःखीहरूको सेवा गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो संस्थाको नाममा बैद्यनाथले गुठी संस्थानसँग जग्गा, जनकपुरधाम उपमहानगरपालिकासँग सो जग्गामा भवन निर्माणका लागि लाखौँको आर्थिक सहयोग र भारत सरकारसँग एउटा एम्बुलेन्स पनि प्राप्त गरेको छ ।

सहयोगी मनका साथ सहयोगको भावना लिएर संस्थाका लागि विभिन्न सहयोग प्राप्त गर्दै सञ्चालनमा ल्याइएको ‘असहाय संरक्षण मञ्च’ले के साँच्चिकै दिन दुःखी र गरिबको सहयोग गरिरहेको छ त? के ‘असहाय संरक्षण मञ्च’ आफ्नो नामजस्तै एउटा सामाजिक संस्था नै हो त? के यो संस्थाले अहिलेसम्म धेरै गरिब र दिनदुःखीहरूको पीडामाथि मल्हम लगाउने काम गरेको छ त? तर, अहिलेसम्म मञ्चले अहिलेसम्म उदाहरणीय काम गर्न सकेको छैन ।

२५ चैत २०७७ मा गुठी संस्थान जनकपुरले असहाय संरक्षण मञ्चलाई जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा रामपुरमा ९ कठ्ठा ६ धुर ३ कनमा जग्गा उपलब्ध गराएको थियो । सो जग्गा २०७७ देखि २०८२ साल सम्मका लागि गुठीले मञ्चलाई उपलब्ध गराएको हो । 

जग्गामा मञ्चले अस्थायी संरचना मात्र बनाउन पाउने सर्तका साथ गुठी संस्थानले जग्गा उपलब्ध गराएको संस्थानका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । त्यसपछि मञ्चका अध्यक्ष साहलाई जनकपुरधाम उपमहानगरपालिकाले सो जग्गामा घेराबार कार्यका लागि समानिकरण अनुदानस्वरूप आर्थिक वर्ष २०७८/७९ मा १३ लाख र आर्थिक वर्ष २०७९/८० मा ५ लाख रुपैयाँ उपलब्ध गराएको जनकपुरधाम उपमहानगरपालिकाका लेखापाल नन्दकुमार झाले जानकारी दिए । 



अध्यक्ष साहले गत आर्थिक वर्षमा उपमहानगरसँग लिएको १३ लाख रुपैयाँबाट सो जग्गामा घेराबार नगरी सटर निर्माण गर्न लगाएका छन् । जबकी उनलाई उपमहानगरले घेरबार कार्यका लागि सो रकम उपलब्ध गराएको थियो । अध्यक्ष साहले असहायको नाममा गुठीसँग जग्गा लिएर उपमहानगरसँग आर्थिक सहयोग प्राप्त गरी सो जग्गामा सातवटा सटरहरू निर्माण गर्न लगाएका छन् । 



उनले असहाय संरक्षण मञ्चको संरचना निर्माणका लागि उपमहानगरसँग लाखौं रकम लिए पनि भवन निर्माण गरेका मजदुरको भने पारिश्रमिक भुक्तानी गरेका छैनन् । 

जनकपुरधाम–१२ बस्ने दिलिप सदाले मञ्चका अध्यक्ष साहले आफूसँग ३ महिना काम गराएर पारिश्रमिक नदिएको दुःखेसो पोखे । उनले विवाह मण्डप निर्माण गर्ने भन्दै आफूसँग अध्यक्ष साहले काम गर्न लगाए पनि पैसा दिन भने आनाकानी गरेको बताए । 

एक वर्ष अगाडि हनुमानगढी स्थानको सो जग्गामा धान उब्जनी हुँदै आए पनि अहिले त्यहाँ असहायको नाममा बजेट लगेर मञ्चका अध्यक्ष साहले सटरहरू निर्माण गर्न लगाएको एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए । अध्यक्ष साह भने मञ्चले गुठीसँग जग्गाको सम्झौता गरी सो जग्गामा असहाय सेवा सदन निर्माण गरिरहेको बताउँछन् । उनले मञ्चले सो सदन निर्माण गरेर पछि समाजलाई नै हस्तान्तरण गर्ने पनि बताए ।

अध्यक्ष साहले गरिब असहायहरूका लागि निःशुल्क उपलब्ध गराउने उद्देश्यले धर्मशाला र विवाह भवन निर्माण भइरहेको बताए । उनले निर्माण कार्य सम्पन्न भएसँगै आफू तुरन्त समाजलाई हस्तान्तरण गर्न तयार रहेकोसमेत बताए । 

‘मैले आफ्नो व्यक्तिगत नाफाका लागि असहाय सेवा सदन बनाइरहेको छैन । समाजसँग सोधेर बनाइरहेको छु । कसैलाई कुनै शंका लागेको छ भने म अहिले नै निर्माण कार्य बन्द गर्न सक्छु,’ साहले भने ।

उनले निर्माण कार्यमा केही व्यक्तिले माटो, केहीले सिमेन्ट सहयोग गरेको र निर्माण सम्पन्न भएपछि त्यहाँ कर्मचारी पनि खटाउनुपर्ने भएकोले सटर निर्माण गरिएको बताए । साहले यो काम आफ्नो लागि नभइ समाजको लागि भइरहेको दाबी गरे । 

अहिलेसम्म आफूले १३ लाख रुपैयाँ मात्र पाए पनि त्यहाँ २० लाखको काम गराइसकेको पनि उनको दाबी छ ।  

एम्बुलेन्स पनि ठेक्कामा

अत्यावश्यक सेवा दिने सवारीसाधनको रूपमा रहेका कारण एम्बुलेन्स खरिदमा सरकारले राजश्व छुट दिएको छ । यसलाई बेच्न र ठेक्कामा लगाउन पाइँदैन । तर, जनकपुरधाममा एम्बुलेन्स बेच्ने र ठेक्कामा दिने प्रवृत्ति मौलाउँदै गए पनि सम्बन्धित निकायले अहिलेसम्म कुनै कारबाही गरेको छैन । तर, जनकपुरधामका विभिन्न संघसंस्थाले भारतीय दूतावासबाट अनुदानस्वरूप पाएको एम्बुलेन्स व्यक्तिगत मुनाफाका लागि बेच्ने र ठेक्कामा लगाउने गरेको पाइएको छ । 

मञ्चका अध्यक्ष साहले पनि असहाय संरक्षण मञ्चको नाममा भारत सरकारबाट सहयोगस्वरूप पाएको एम्बुलेन्स ठेक्कामा लगाएका छन् । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको उपलक्ष्यमा जनकपुरधामका असहाय संरक्षण मञ्चसहित ४७ वटा सामाजिक संस्थालाई भारत सरकारले २०७७ को असोजमा एम्बुलेन्स सहयोग गरेको थियो । 

गरिब, असहाय, अपाङ्गता र वृद्धवृद्धालाई औषधि उपचारदेखि विभिन्न काममा सक्रिय सहयोगका लागि मञ्चलाई भारतीय राजदूतावासले उपहारस्वरूप सो एम्बुलेन्स प्रदान गरेको थियो । 

आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले असहाय संरक्षण मञ्चलाई एम्बुलेन्स उपलब्ध गराए पनि अहिले त्यो एम्बुलेन्स मञ्चका अध्यक्ष साहले मासिक ३५ हजार रुपैयाँको दरले ठेक्कामा लगाएर नाफा कमाइरहेका छन् । प्रदेश–२–०२–००१ च ०३९२ नम्बरको सो एम्बुलेन्समा नेपाल–भारत सहयोग लेखिएको भए पनि अहिले ती अक्षरहरूलाई मेटाएर मञ्चका अध्यक्ष साहले धनुषाको बटेश्वर गाउँपालिका बस्ने सुकेश्वर महतोलाई मासिक ३५ हजारको दरले ठेक्कामा दिइसकेका छन् । सो एम्बुलेन्स नाफा कमाउने उद्देश्यले प्रयोग गरिरहेको पाइएको हो । 

सुरुमा उक्त एम्बुलेन्स चलाउनका लागि अध्यक्ष साहले एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष अरमान साहलाई मासिक १३ हजार रुपैयाँको दरले चालकमा नियुक्त गरेका थिए । ३ महिनापछि उनले सोही गाडी अरमानलाई नै मासिक ३० हजार रुपैयाँको दरले ठेक्कामा दिए । अरमानले सो गाडी एक वर्षसम्म ठेक्कामा चलाए । संयोगबस केही दिनपछि गाडी दुर्घटनामा परेपछि अध्यक्ष साहले अरमानसँग सो गाडी खोसेर बटेश्वरका सूर्यदेव महतोलाई ठेक्कामा लगाए । 

अहिले सो एम्बुलेन्स सूर्यदेवको जिम्मामा रहेको छ । एम्बुलेन्समा बिरामी बोक्न मात्र पाइने नियम रहे पनि असहाय संरक्षण मञ्चलाई सेवा गर्ने भावनाका साथ उपहारस्वरूप प्रदान गरिएको सो एम्बुलेन्स अहिले शववाहनको रूपमा पनि प्रयोग भइरहेको देखिन्छ । 

सेवामूलक संस्था भनेर प्रदान गरिएको सो एम्बुलेन्सलाई अहिले गैरकानुनी तवरले सञ्चालन गरी नाफामूलक बनाइएको छ । एम्बुलेन्समा ट्राभलिङ भेन्टिलेटर, इसिजी तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हिलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस जडान गरिएको छ । 

अरमानले भने, ‘यहाँका अधिकांश संस्थाले एम्बुलेन्सलाई कमाइ खाने भाँडो बनाएका छन् । राजस्व छुट वा सहयोगमा प्राप्त एम्बुलेन्सलाई मासिक १० देखि ३० हजारसम्ममा भाडामा लगाएर रकम असुली गर्ने गरिएको छ । बिक्रीनामा कागज समेत तयार गरेर १० देखि १५ लाख सम्ममा बेचिन्छ ।’

सरोकारवाला निकायको अनुगमन अभावको कारण यस्तो समस्या आउने गरेको उनको दुःखेसो छ । साहले एम्बुलेन्सको नियमन गर्ने निकायहरूको अभाव र अनुगमन नगर्ने प्रवृतिका कारण जनकपुरमा समस्या आएको सुनाए ।   

पछिल्लो तथ्यांकअनुसार नेपाल–भारतको सहयोगमा २३ गरी जम्मा ७८ वटा एम्बुलेन्स धनुषामा सञ्चालित छन । जसमध्ये मापदण्ड विपरीत १२ वटा ठेक्कामा लगाइएका छन् भने ६ वटा गैरकानुनी रूपमा बेचिएको एम्बुलेन्स चालकको आरोप छ ।

  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १०:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया