सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।
गठबन्धनको बैठकमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ ।
कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरूबीच सहमति जुटाउने प्रयास हुनेछ । प्रदेश १ को सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय आज साँझ ५ बजे सकिँदैछ ।
सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहँदा नयाँ सरकारको नेतृत्वको विषयमा भने दलहरूमा सहमति जुट्न सकेको छैन ।
दलहरूबीच भागबन्डा नमिल्दा प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ । प्रदेश १ को नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । ९३ सदस्यीय प्रदेश १ मा एमालेबाट ४०, नेपाली कांग्रेसबाट २९, माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादीबाट चार र जसपाबाट एकजना प्रदेशसभा सदस्य रहेका छन् ।
त्यस्तै, बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद सोमबारसम्म छ । बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।