नेपाल टी–२० लिग : एलिमिनेटर खेलमा काठमाडौं र विराटनगर खेल्दै

राजधानीमा जारी पहिलो सिजनको नेपाल टी–२० लिगमा आज हुने एलिमिनेटर खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्स खेल्दै छन् ।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । आज विजयी हुने टिमले दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सको सामना गर्नेछ ।

जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो । आज पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । विराटनगर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । उसले पहिलो चरणमा १० म्याचमा पाँचमा जित र पाँच खेलमा हार बेहोर्‍यो ।

त्यस्तै, चौथो स्थानमा रहँदै प्लेअफको यात्रा गरेको काठमाडौंले १० म्याचमा ६ मा हार र चार खेलमा जित निकाल्यो । समूह चरणअन्तर्गत अन्तिम खेलमा रोहित पौडेल कप्तानीको विराटनगरले काठमाडौंलाई ७ विकेटले हराएको थियो । ऊ आज पनि सोही लय कायम राख्न चाहन्छ ।

ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं अघिल्लो खेलको बदला लिँदै क्वालिफायरको यात्रा तय गर्न चाहन्छ । पहिलो संस्करणको लिग विजेताले ५५ लाख तथा उपविजेता टिमले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यस्तै, तेस्रो हुने टिमले १० लाख तथा चौथो स्थान हासिल गर्ने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार ८:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया