प्रचण्डलाई बधाई दिँदै देउवाले भने - यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा राखेका छन्
फरकधार / २५ पुस, २०७९

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।’



सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गरे । 

संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको बताउँदै उनले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरुपका आवश्यक नीति र कानून बनाउनुपर्ने आवश्यकता औँल्याए । 



सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा उनलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।



‘आजभन्दा १८ महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमका बीचमा कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए’, उनले भने,  ‘तत्कालीन अवस्थामा संविधानको भावनाबमोजिम प्रतिनिधिसभालाई पूर्ण कार्यकाल कार्यसम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सम्पन्न गरी देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो ।’ 

  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १४:४३:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया