नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले राष्ट्रिय एकताको आवश्यकता रहेकाले सबैले राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका हुन् ।
‘अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरूपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगाडि बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ । अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ,’ एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भने । सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उनले देशका लागि सँगै काम आह्वान पनि गरे ।
वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने ओलीको भनाइ थियो । ‘अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ, राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ,’ उनले भने । सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजानेमा उनले विश्वास छ ।
सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता साझेदार दलको सहमतिमा छिट्टै न्यूनतम साझा कार्यक्रम आउने ओलीको भनाइ छ । ‘विधिवत् ढङ्गबाट हामीले एउटा नीति तय गर्नेछौँ । त्यो नीतिअनुसार नै सरकार अगाडि बढ्नेछ,’ अध्यक्ष ओलीले भने, ‘यस सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने छ ।’
ओलीले ज्वलन्त समस्याको सकारात्मक समाधान खोजेर मुलुकलाई अगाडि बढाउनुपर्ने उत्तरदायित्व प्रतिनिधिसभाको काँधमा आएको पनि बताए । ‘राजस्व सङ्कलन घटेको छ, अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ, अर्थतन्त्रसम्बन्धी समस्यालाई समाधान गरेर जानुपर्छ,’ ओलीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।