प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने संसद् बैठकमा विश्वासको मत लिँदैछन् । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएमा उनले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
गठबन्धन सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन पाउनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाउने दाबी गर्दै आएका छन् । उनले सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘सिङ्गै हाउस विश्वासको मतमा उभिने’ दाबी गरेका थिए । साथै, प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले पनि विश्वासको मत दिने आश्वासन दिएका छन् ।
सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका छन् । प्रचण्ड विश्वासको मत माग्न सोमबार साँझ देउवा निवास धुम्बाराहीमा पुगेका थिए ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने औपचारिक निर्णय भने आज बिहान बस्ने संसदीय दलको बैठकले गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।