नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिनिधिसभा बैठकमा सवालजवाफ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत लिने प्रस्तावमाथि भइरहेको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले सोमबारको संसद् बैठकमा ओलीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
ओलीको सम्बोधनले वर्तमान सरकारलाई संविधानको रक्षा गर्न चुनौती थपेको देउवाको भनाइ थियो । लगत्तै सम्बोधन गरेका ओलीले देउवालाई मौकाअनुसार व्याख्या नगर्न आग्रह गरे ।
‘माननीय शेरबहादुर देउवाले २०५९ साल असारमा संसद् विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन?,’ ओलीले प्रश्न गरे, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद् विघटन गरेको?’
ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले डेमोक्रेसीको नयाँ भाष्य बनाएको पनि बताए । उनले यसक्रममा विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवादसमेत दिए ।
कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अब संसद्मा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्रै प्रतिपक्षी दलको रूपमा रहने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।