पाँच वर्षकाे प्रगति सुनाउँदै मुख्यमन्त्री भट्टले भने– स्थायी सरकार बनाएर इतिहास बनायाैँ

सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षमा चार सय किलोमिटर सडक निर्माण गर्न सफल भएको दाबी गरेको छ । मंगलबार  सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा यस्तो दाबी गरेको हो । 

‘प्रदेश सरकार हुनुभन्दा पहिले एक हजार किलोमिटर पनि कालोपत्रे हुन सकेको थिएन’, मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यक्रममा भने, ‘प्रदेश सरकारले पाँच वर्षमा ४ सय किलोमिटर कालोपत्रे, ७ सय ६९ किलोमिटर ग्राभेल, एक हजार २३ किलोमसटर कच्ची सडक निर्माण गर्न सफल भएको छौँ ।’ 

प्रदेश सरकार आएपछि ५२ वटा मोटरेबल पुल निर्माण भएको उनले जानकारी दिए । सबैभन्दा बढी लगानी सडक पूर्वाधारमा गरेको प्रदेश सरकारले विगतदेखि बहुवर्षीय ठेक्का लगाएका सडकहरु निर्माण सम्पन्न हुने क्रममा रहेको कार्यक्रममा मुख्यमन्त्री भट्टले जानकारी गराए ।

चालू आर्थिक वर्षको अन्त्यसम्म करिब दुई सय किलो मिटर कालोपत्रे सडक निर्माण सम्पन्न हुने चरणमा रहेको उनले बताए । उनले बहुवर्षीय ठेक्का र क्रमागत योजना गरी एक हजार किलोमिटरभन्दा बढी सडक कालोपत्रेका लागि ठेक्कामा रहेको बताए ।

उनले एक वर्षमै सम्पन्न हुने गरी पाँच सयभन्दा बढी योजनाहरु सडक ग्राभेल गर्ने, ट्रयाक खोल्ने र सडक अपग्रेड गर्ने योजनाहरु सञ्चालनमा रहेको बताए । प्रदेशमा सिँचाइको क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको मुख्यमन्त्री भट्टको भनाइ छ । प्रदेशमा एक सय ३० किलोमिटर सिँचाइ कुलो निर्माण गरेको उनले बताए । 

पाँच वर्षमा दुई लाखभन्दा बढी नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन सकेको उनले बताए । ‘पाँच वर्षमा विकास निर्माणका कार्यका साथै लोकसेवा आयोग, शिक्षामा धेरै काम गरेका छौँ’, उनले भने, ‘आउने सरकारकाल लागि धेरै सहज हुनेछ ।’  



प्रदेश सरकारले शिक्षाको क्षेत्रमा पाँच वर्षमा एक सय ३३ वटा विद्यालय भवन निर्माण गरेको छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रदेश सरकारले उल्लेखनीय काम गरेको मुख्यमन्त्री भट्टले बताए । ‘धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सुरुमा एक्सरे मेसिन समेत थिएन’,उनले भने, ‘अहिले प्रदेश सरकार गठन भएपछि सिटिस्क्यानदेखि भवन निर्माणसम्मका काम भएका छन् । अन्य थुप्रै जिल्लामा स्वास्थ्यका क्षेत्रमा धेरै राम्रो काम भएका छन् ।’ 

पाँच वर्षमा प्रदेश सरकारले कृषिमा समेत धेरै काम गरेको उनले बताए । एकीकृत कृषि कार्यक्रम अन्तर्गत प्रदेशमा ५ सय नागरिकले रोजगारी पाएको उनले बताए । कृषिमा बीउ उत्पादनमा समेत देशमा दोस्रो प्रदेश भएको उनले उल्लेख गरे । प्रदेश सरकारले प्रदेश सरकारले पाँच वर्षमा राजधानी घोषणादेखि प्रदेशको नामकरण गरेको उनले प्रष्ट पारे । 



‘प्रदेशको राजधानी घोषणा र नामाकरण भयो’, उनले भने,‘प्रदेश राजधानी निर्माणका लागि पूर्वाधार भने संघीय सरकारले भूमि प्राप्तिमा सहयोग नगर्दा अगाडि बढ्न सकेन ।’ सुरुमा प्रदेश सरकार गठन हुँदा कुनै पनि पूर्वाधार र नीतिविना काम गरेको अनुभव सुनाउँदै उनले आउने सरकारलाई अब धेरै सहज हुने बताए ।  

‘नेपालको लागि संघीयता नयाँ थियो । सुरुमा हामी आउँदा पूर्वाधार, कानुन, कर्मचारी लगायत केही पनि थिएन’, उनले भने, ‘त्यसका बाबजुद पनि संघीयताको आधारशीला स्थापना गर्नमा सफल भएका छौँ ।’ पाँच वर्षमा राजनीतिक अस्थिरताका बाबजुद पनि देशका विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरिँदा पनि सुदूरपश्चिममा स्थायी सरकार बनाएर इतिहास बनाएको उनको भनाइ छ । पाँच वर्षमा कुनै पनि प्रकारको विवादरहित भएर काम गर्न सफल भएको उनको दाबी छ । 

‘सुरुमा जस्तो आएको थिएँ । आज त्यस्तै भएर प्रदेश सरकारबाट बिदा हुँदै छु’, उनले भने, ‘प्रदेश सरकारलाई सफल बनाउन भूमिका खेल्ने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र सञ्चारकर्मीहरुलाई धन्यवाद छ ।’ 

अहिलेकाे सरकारले गरेका अधिकांश काम आगामी सरकारका लागि सिकाइ हुने उनको विश्वास छ।

  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १७:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया