को हुन् सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री ?

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । ०२१ साल जेठमा बैतडीको दशरथचन्द नगरपालिका–५ मार्कण्ड गाउँमा जन्मिएका उनको प्राथमिक शिक्षा भारतमा भएको हो ।

उनका बुवा दानसिंह रावल भारतीय सेनाका जागिरे थिए । त्यसले गर्दा उनले कक्षा सातसम्म भारतको मेघालय, शिलांगमा अध्ययन गर्ने मौका पाएका हुन् । त्यसपछि फेरि बैतडी फर्किएका थिए । कक्षा ८ देखि १० सम्मको अध्ययन बैतडीकै शाहीलेखस्थित बिरेन्द्र माध्यमिक विद्यालयबाट पूरा गरे । 

रावलले भारतको दमनबाट इन्टरमिडिएट पूरा गरेका छन् । उनले कञ्चनपुर महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययनसमेत गरेका थिए । रावलको परिवार ०४१ सालतिर पुर्ख्यौली घर बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर बसाइँ सरेको थियो । ०४४ सालदेखि महेन्द्रनगरमा स्थायी बसोवास सुरु गरेका रावल तीन दाजुभाइमध्ये माइला हुन् । उनका तीन दिदीबहिनी छन् ।

रावल ०५१ मा उनी कञ्चनपुरमा पार्टी कमिटीको संगठन विभागको संयोजकसमेत थिए । त्यसपछि पार्टीको जिल्ला कमिटी उपसचिव भएका उनी ०५६ देखि लगातार दुई कार्यकाल कञ्चनपुरको सचिवको जिम्मेवारीमा रहेर काम गरेको अनुभव सुनाउँछन् । 

सचिव नै प्रमुख हुने तत्कालीन व्यवस्थामा उक्त पदमा पुगेका भए पनि पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि उनले अध्यक्ष पदमा प्रतिस्पर्धा गरे । अध्यक्षमा पराजित भएपछि तेस्रोपटक जिल्ला पार्टीको नेतृत्व गर्ने उनको चाहना भने पूरा हुन सकेन ।

तत्कालीन पार्टी कमिटीको अञ्चल सदस्य हुँदै, केन्द्रीय सदस्य, स्कुल विभाग प्रमुख, नेकपाकालमा प्रदेश कमिटी सचिव भएका रावल हाल पार्टीको पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीमा सहइन्चार्ज छन् ।



रावल यसअघि निर्वाचित जनप्रतिनिधिका रुपमा ०५४ सालमा पाँच वर्ष अवधि कञ्चनपुरमा तत्कालीन जिल्ला विकास समितिको उपसभापति भएर कामकाज गरेको अनुभव छ । तत्कालीन जिविस उपसभापति भएर कार्यानुभव गर्ने मौकाबाहेक अन्य पद प्राप्तिको अवसर भने उनले पाएनन् । 

मंसिर ४ को निर्वाचनमा उनले प्रतिनिधिसभाका लागि चुनावी प्रतिस्पर्धा गर्न चाहेका थिए । तर, उनी टिकटका लागि सिफारिसमा पर्न सकेनन् । किनकि उनको क्षेत्रबाट उनी भन्दा प्रभावशाली देखिएकी निरुदेवी पालले टिकट पाउने निश्चितजस्तै देखेकाले रावलले उनै पाललाई समर्थन गरेका थिए । 



यसपटक एमाले सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ तीन सिट मात्र जिते पनि समानुपातिकतर्फ भने सात सिट एमालेले पाएको थियो । सातमध्ये दुईजना पुरुषले अवसर प्राप्त गर्ने अवस्था आउँदा पहिलो नम्बरमा परेका रावलले स्वतः समानुपातिक सांसद निर्वाचित हुने मौका पाए ।

मुख्यमन्त्री भएपछि उनले विकासका सवालमा ठूला-ठूला कुरा गर्ने भन्दा पनि ससाना र जनआवश्यकता पूरा गर्ने विन्दुबाट प्रदेश सरकारलाई अघि बढाउने बताएका छन् ।

मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले जनताको सेवक भएर कामको जिम्मेवारी दिने बताए । ‘सुदूरपश्चिमको विकासका लागि दलगत भावनाभन्दा माथि उठेर काम गर्नेछु’, उनले भने । ‘त्यसका लागि मलाई समर्थन गर्ने दललाई धन्यवाद दिन्छु र प्रतिपक्षमा रहेका दलहरुलाई पनि एक ठाउँमा आएर काम गर्न आह्वान गर्दछु ।’

रावल आफ्ना दाजु रामसिंह रावलको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको सुनाउँछन् । तत्कालीन समयमा दाजु रामसिंह पुष्पलाल समूहको केन्द्रीय सदस्य थिए । ०३६ सालमा उनी एसएलसी दिने तयारीमा रहँदा उनका दाजु जेलमा परेपछि राजनीतिक क्रियाकलापमा सक्रियता बढेको थियो ।

औपचारिक रुपमा राजनीतिमा प्रवेश गराउने श्रेय भने उनी कञ्चनपुरका कम्युनिस्ट नेता उर्वादत्त पन्तलाई दिन्छन् । पन्तले ०३९ सालमा अनेरास्ववियुमा संगठित गराएको उनी सम्झिन्छन् । ०४१ मा केही समय उनले आफू अध्ययन गरेकै बैतडीको वीरेन्द्र माविमा अध्यापन पनि गराए । उनी पार्टीको शिक्षक संगठनले सञ्चालन गरेका आन्दोलनहरुमा पनि अग्रपंक्तिमै रहेका थिए । 

०४६ सालमा मार्कसवादी अध्ययन दलमा आबद्ध भएका रावल त्यसबेलाको जनआन्दोलनमा पनि सक्रिय थिए । ०४७ सालमा तत्कालीन मालेका बेला मदन भण्डारी कञ्चनपुरमा पार्टी स्थापना गर्न आएका बेला प्रेमसिंह धामी संयोजक रहेको जिल्ला कमिटीमा उनी सदस्य थिए । 

मुलुक संघीयतामा गएपछि सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री हुने अवसर पाएका रावलले आगामी दिनमा कस्तो काम गर्नेछन् त्यो जनताले मूल्यांकन गर्ने नै छन् ।

  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार २०:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया