सत्ता साझेदार दलहरूको बैठक बस्दै, मन्त्रालय भागवन्डामा सहमतिको प्रयास

सत्ता साझेदार दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको हो । 

आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले मंगलबार ​१२ राजनीतिक दल र स्वतन्त्र गरी २६८ जना सांसदको विश्वासको मत पाएका थिए । उनलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाका गरी दुईजना सांसदले मात्रै विश्वासको मत दिएनन् । 

अहिले सत्ता साझेदारमा भने सात दल छन् । प्रधानमन्त्री प्रचण्डले तिनै ७ दलबाटै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । 

सत्ता साझेदारको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार बेलुकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको अहिले आठ सदस्यीय मन्त्रिमण्डल छ ।

उनले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र  पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाएका छन् ।  



एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीका अब्दुल खानले भने मन्त्रालयको जिम्मेवारी पाउन बाँकी छ । उनीहरूले प्रधानमन्त्री प्रचण्डसँगै ११ पुसमै पद तथा गोपनीयताको शपथ लिएका थिए ।



  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ८:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया