सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यको मोबाइलमा एसएमएस र सभाको सूचना पाटीमा सूचना टाँस गर्दै अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो ।

‘सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँछौँ,’ सचिव देवबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ । प्रदेश सभा सचिवालयमा आज सभामुख चयनका लागि निर्वाचनको कार्यतालिका रहेको थियो । सत्तापक्ष सांसदले भने सभाध्यक्ष शिवराज भट्ट सम्पर्क विहीन हुँदा अन्योलता भएको आरोप लगाएका छन् । अहिले कांग्रेस अल्पमतमा रहेपछि भट्ट सम्पर्क विहीन भएको सत्ता गठबन्धनका नेताहरूले आरोप लगाएका छ । 

यस अघि ज्येष्ठ सदस्यका रूपमा सभाध्यक्षको रूपमा रहेका मानबहादुर रावल सभामुखको उम्मेदवार भएपनि शिवराज भट्टलाई सभा सञ्चालनको जिम्मेवारी दिइएको थियो । ज्येष्ठ सदस्य रहेका रावल र भट्ट दुवै कांग्रेसका हुन् । बिहीबार काँग्रेसबाट उम्मेदवार भएका रावल र माओवादी बाट उम्मेदवार भएका भीम भण्डारी दुवैको बहुमत नभएपछि आज पुनः निर्वाचन तोकिएको थियो ।

हिजो भएको निर्वाचनमा भण्डारीले २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुवैपटक २३ मत पाएका थिए । भण्डारीले २६ मत पाएका थिए । सत्तापक्षको एक मत बदर भएको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक वाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ । माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ ।





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १८:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया