समायोजनलगत्तै नयाँ कर्मचारी भर्ना खुल्ने

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबार आयोजनाको कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सो जानकारी गराएका हुन् ।
 
नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको ३३औँ आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पण्डितले भने, ‘लोकसेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ, समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना सुरु हुनेछ ।’ 

मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसद्बाट सर्वसम्मत रूपमा पारित भएको भन्दै अब यही महिनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेस गर्ने बताए । 

उनले प्रशासनमा भएको विसंगति र विकृति पूर्ण रूपमा हटाउनेसमेत विश्वास दिलाउँदै मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए ।  ‘‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दै छु,’ उनले भने,  ‘‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु ।’ 

मन्त्री पण्डितले प्रविधिको प्रयोग गरेर निष्पक्षतापूर्वक जिम्मेवारीअनुसार काम सम्पन्न गर्नेलाई पुरस्कृत र अल्छी मान्नेलाई दण्ड–सजाय दिने बताए । मुलुक परिवर्तन भएसँगै कर्मचारीमा पनि परिवर्तन हुनुपर्ने उनको भनाइ थियो । ‘अहिले मुलुक संघीयतामा गएको छ । कर्मचारी पनि संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा जानुपर्दछ,’ उनले भने । 

नवनियुक्त कर्मचारीलाई हसिलो मुहार बनाएर राष्ट्र सेवामा लाग्नसमेत उनले आग्रह गरे । राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै उनले निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए । मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानुनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए । 





  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १७:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया