कोहलीको आक्रामक ब्याटिङमा भारतलाई कीर्तिमानी जित, सिरिज गर्‍यो ‘क्लिन स्विप’

पाहुना टोली श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । गएराति सम्पन्न तेस्रो खेलमा ३ सय १७ रनको कीर्तिमानी जित निकाल्दै भारतले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो । 

एकदिवसीय क्रिकेटमा यो कुनै पनि टिमको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि न्युजिल्याण्डले सन् २००८ मा आयरल्याण्डलाई २ सय ९० रनले हराएको थियो । 

भारतले न्युजिल्याण्डको १५ वर्ष पुरानो रेकर्ड तोड्दै इतिहास रचेको छ । श्रीलंकाले यसपालि पनि भारत भ्रमणमा खराब प्रदर्शन गर्‍यो । सिरिजको तेस्रो खेलमा भारतले दिएको ३ सय ९१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २२ ओभरमा ७३ रन बनाउँदै सबै विकेट गुमायो । 

उसका लागि नुवानिदु फर्नान्डोले १९, कप्तान दासुन शानकाले ११ र कसुन रजिथाले अविजित १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

भारतका लागि मोहम्मद सिराजले चार, कुलदीप यादव र मोहम्मद शामीले दुई/दुई विकेट लिए । त्यसअघि तिरुवनन्तपुरमस्थित ग्रीनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९० रन बनायो ।

उसका लागि विराट कोहलीले र शुभमन गिलले शतकीय पारी खेले । ११० बलको सामना गरेका कोहलीले १३ चौका र आठ छक्कासहित अविजित १ सय ६६ रन बनाए । एकदिवसीयमा उनको यो ४६ औं शतक हो । त्यस्तै, गिलले ९७ बलमा १४ चौका र दुई छक्कासहित ११६ रन बनाए । एकदिवसीयमा उनको यो दोस्रो शतक हो । 



कप्तान रोहित शर्माले ४२, श्रेयस अय्यरले ३८, केएल राहुलले सात र सूर्यकुमार यादवले चार रन जोडे । श्रीलंकाका लागि कसुन रजिथा, लाहिरु कुमाराले दुई/दुई र चमिका करुणारत्नेले एक विकेट लिए । भारत सिरिजको पहिलो खेलमा ६७ रन र दोस्रो म्याचमा ४ विकेटले विजयी भएको थियो । 



  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ७:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया