जग्गा नापजाँचको काम कुनै पनि बहानामा रोकिँदैन : मेयर ओझा

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले भूमि इकाइअन्तर्गत अव्यवस्थित बसोबास, भूमिहीन, दलित र सुकुम्बासीको जग्गा नापजाँचको काम कुनै पनि हालतमा नरोकिने बताएका छन् । आइतबार कृष्णपुर नगरपालिकाका विभिन्न वडामा जग्गा नापजाँच गरिरहेका फिल्डका सर्वेक्षक, अमिन र इकाइ प्रमुखसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।  

मेयर ओझाले नगरवासीले वर्षौंदेखि जग्गा भोगचलन गरेको तर पुर्जा प्राप्त गर्न नसक्दा मारमा परिरहेकाले आफूले जग्गा नापजाँचको काम सकाएर लालपुर्जा वितरण गर्ने कामलाई प्राथमिकतामा राखेको बताए । उनले पटकपटक भूमिसम्बन्धी आयोग बन्ने तर वास्तविक भूमिहीनले पुर्जा नपाउने क्रम दोहोरिएकोले आयोग सम्बन्धी नागरिकको विश्वास घट्दै गइरहेको बताए । अब भने कुनै पनि बहानामा जग्गा नापजाँचको काम रोक्न नहुने नगरप्रमुख ओझाको भनाइ छ ।

उनले कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच गरिरहेको टोलीका सदस्यसँग हालसम्मको प्रगति विवरण, नापजाँचका क्रममा आइपरेका कठिनाइलगायतका विषय पनि जानकारी लिएका छन् । साथै, नगरप्रमुख ओझाले फिल्ड सर्वेक्षक, अमिन र इकाइ प्रमुखहरूलाई कसैको प्रलोभनमा नपरी निर्धक्कका साथ जग्गा नापजाँचको कामलाई तीव्रता दिनसमेत निर्देशन दिए ।  

हालसम्म कृष्णपुर नगरपालिकाअन्तर्गत वडा नम्बर १ मा ३ हजार ३४५ कित्ता, वडा नम्बर  २ मा ४ हजार ४ सय कित्ता, वडा नम्बर ४ मा २ हजार ८ सय कित्ता र वडा नम्बर ९ मा २ हजार ५ सय कित्ता जग्गा नापजाँचको काम सकिएको छ । वडा नम्बर ३ मा पनि अव्यवस्थित बसोबास, भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको काम छिट्टै सुरु गरिने नगरप्रमुख ओझाले बताए ।





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १३:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया