पोखरा विमान दुर्घटनामा कृषि प्रसार अधिकृत श्रेष्ठको पनि मृत्यु

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ ।  

पाँच वर्षदेखि उनी कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रूपमा कार्यरत थिए । कृषि ज्ञान केन्द्र म्याग्दीमा कार्यरत कृषि प्रसार अधिकृत ३४ वर्षीय मोहनप्रकाश श्रेष्ठको विमान दुर्घटनामा निधन भएको हो । केन्द्रका प्रमुख किरन सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए ।

‘यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,’ उनले भने, ‘उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ ।’ 

नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर आएका थिए । २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए । 

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुबाआमा छन् ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १३:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया