बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदैछन् । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
आज दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।जम्मकट्टेल गत २५ पुसमा बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ पुसमा प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।
उनी प्रदेशसभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई मुख्यमन्त्रीमा नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको २ सांसद गरी ७० जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र तीन सिट रहेको नेपाल मजदुर किसान पार्टीमात्रै प्रतिपक्षमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।