न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित, गिलको कीर्तिमानी दोहोरो शतक

न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत १२ रनले विजयी भएको छ । योसँगै तीन खेलको श्रृंखलामा घरेलु टोली भारतले १–० को अग्रता लिएको छ ।

न्युजिल्याण्डले सिरिजमा हारबाट सुरुवात गर्‍यो । भारतले दिएको ३ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ३७ रन बनायो ।

उसका लागि अलराउन्डर माइकल ब्रेसवेलले आक्रामक शतकीय पारी खेले । ७८ बलको सामना गरेका उनले १२ चौका र १० छक्कासहित १ सय ४० रन बनाए । एकदिवसीयमा ब्रेसवेलको यो करियरकै उच्च स्कोर तथा दोस्रो शतक हो । त्यस्तै, मिचेल सान्टनरले ५७, फिन एलेनले ४०, कप्तान टम लाथमले २४, हेनरी निकोल्सले १८, ग्लेन फिलिप्सले ११ र डेभन कन्वेले १० रन जोडे ।

भारतका लागि मोहम्मद सिराजले १० ओभरमा दुई मेडनसहित ४६ रन दिएर चार विकेट लिए । त्यस्तै, कुलदीप यादव, शार्दुल ठाकुरले दुई/दुई, हार्दिक पाण्ड्या र मोहम्मद शामीले एक/एक विकेट लिए । त्यसअघि हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४९ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर शुभमन गिलले दोहोरो शतकीय पारी खेले । १४९ बलको सामना गरेका उनले १९ चौका र ९ छक्कासहित २ सय ८ रनको पारी खेले । गिल एकदिवसीयमा दोहोरो शतक बनाउने पाँचौं भारतीय ब्याटर हुन् । योसँगै उनी एकदिवसीयमा दोहोरो शतक बनाउने विश्वकै कान्छो खेलाडी बनेका छन् ।

यसअघि यो कीर्तिमान भारतीय ब्याटर इशान किशनको नाममा थिए । उनले गत वर्ष बंगलादेशविरुद्ध २४ साल १४५ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए । गिलले २३ साल १३२ दिनको उमेरमा दोहोरो शतक बनाए । 



त्यस्तै, कप्तान रोहित शर्माले ३४, सूर्यकुमार यादवले ३१, हार्दिक पाण्ड्याले २८ र वासिङ्टन सुन्दरले १२ रन जोडे । न्युजिल्याण्डका लागि डारियल मिचेल र हेनरी शिपलेले एक/एक विकेट लिए । भारत र न्युजिल्याण्डबीचको दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । 



  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार ७:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया