फरार सांसदबारे प्रश्न उठेपछि गृहमन्त्रीको जवाफ : विधि र पद्धतिअनुसार अघि बढ्छौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिअनुसार काम गरिरहेको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको बताएपछि गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । 

उनले गृह मन्त्रालय कुनै दबाब र प्रलोभनमा काम नगर्ने पनि दाबी गरे । कर्मचारी सरुवाबढुवा र कानुनी शासनको पालनामा कुनै कसर बाँकी नराख्ने पनि गृहमन्त्री लामिछानेको भनाइ छ ।

‘माननीय सांसदज्यूले फरार रहनुभएका मानिस संसद्मा हुनुहुन्छ भन्नुभयो । विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले काम गर्नेछैन । कर्मचारीको सरुवा बढुवामा भनसुनका आधारमा चल्ने छैन । कुनै पनि दबाब र प्रलोभनमा काम हुने छैन । विधि र पद्धतिभन्दा बाहिर गएर काम हुने छैन,’ लामिछानेले भने । 

प्रहरीको फरार सूचीमा रहेका ४ मंसिरमा महोत्तरी–१ बाट निर्वाचित कोइरीले ७ पुसमा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले २६ पुसमा संघीय संसदमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत पनि दिएका थिए ।  

कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १२:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया