कर्णाली सरकारको पहिलो निर्णय : युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन
फरकधार / ५ माघ, २०७९
फाइल तस्बिर

कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ ।



मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सचिव थापा नेतृत्वको कार्यदलले कर्णालीका बेरोजगार युवाका लागि प्रति वर्ष १० हजारलाई रोजगार दिने योजना निर्माण गर्न गर्नेछ । 

मन्त्रिपरिषद्को पहिलो बैठकले समृद्ध कर्णालीका लागि रोजगारीमार्फत स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न कार्यदललाई ३० दिनको समयावधि दिएको मुख्यमन्त्री शर्माले बताए । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य र कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुनेगरी कार्यदल गठन गरिएको छ । 



मुख्यमन्त्री शर्माले पदभार ग्रहण गरेकै दिन कर्णाली प्रदेशका १० हजार बेरोजगार युवालाई हरेक वर्ष रोजगारी दिने र रोजगारीमार्फत स्वरोजगार बनाउने योजना सार्वजनिक गरेका थिए ।



सोही योजनाबमोजिम कार्यदलले युवा रोजगारीका लागि आवश्यक तथ्याङ्कसहित योजना निर्माणको प्रतिवेदन ल्याउने र त्यसले काम कारबाही कसरी थाल्ने भन्ने मार्गनिर्देशन गर्ने उनले बताए । 

  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १३:१६:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया