विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् ।

‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु,’ प्रधानमन्त्रीले भने । 

उनले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।’

उनले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरे । ‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईँहरूको साथ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसङ्गतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १४:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया