नेपालमा हवाई दुर्घटना : एक सय चार दुर्घटना, नौ सयभन्दा बढी मानवीय क्षति

नेपालमा हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय चारवटा विमान दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ । 

मानवीय क्षतिको हिसाबले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । 

तुलनात्मकरूपमा सुरक्षित भनिने एटिआर सिरिजका विमान दुर्घटना पर्नु आफैँमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक संघका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ । 

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा हुँदा एक सय ५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । 



सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटना भए पनि मानवीय क्षति भने भएन । सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौं आउँदै गरेको अल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जंगलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटकसहित छजनाको मृत्यु भएको थियो । 

सन् २०१८ मार्चमा बंगलादेशबाट नेपाल आएको युएस बांगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।



सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा तीनजनाको मृत्यु भएको थियो । 

यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।
 
सन् २०२२ को मे २७ मा यती एयरलाइन्सको भगिनी संस्था तारा एयरको ट्विनअटर विमान मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।

पछिल्लोपटक यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२)विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भयो । 

उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एकजनाको अवस्था अज्ञात छ । अझै पनि खोजी कार्य जारी छ ।
 

  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार २१:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया