मधेस प्रदेश : मुख्यमन्त्री यादवलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा पद तथा गोपनीयताको शपथ लिए । २७ पुसमा मुख्यमन्त्रीका नियुक्त भएका उनले २९ गते तीनजना मन्त्रीसँगै शपथ लिएका थिए । 

शपथ लिएको दुई साता पुग्न लाग्दा पनि मुख्यमन्त्री यादवले भने मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन ढिलाइ भएको हो ।  

यादवले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी नेपालका संजय यादव र जनमत पार्टीका बसन्त कुशवाहालाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेर प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ ग्रहण गरेकै दिन मुख्यमन्त्री यादवले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए ।

४ माघमा बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत पनि दिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत पाएका थिए । यादवले प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका थिए ।  

१० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए । तर, मुख्यमन्त्री यादवले विश्वासको मत पाएको ४ दिन बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउने संकेत देखिएको छैन ।

यता मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउनेमै स्पष्ट सहमति जुट्न नसक्दा पूर्णता दिन नसकिएको दलहरूले बताइरहेका छन् । 



केन्द्रसँगै प्रदेशका समेत मन्त्रालयको भागबन्डा लगाउने गरी प्याकेजमै सहमति जुटाउने प्रयास भए पनि दलहरूबीच ठोस सहमति हुन बाँकी छ । 

मुख्यमन्त्री यादवले तत्काल सरकार विस्तार गर्ने बताए पनि गठबन्धनमा कुरा नमिल्दा सरकार विस्तारको काम धकेलिएको हो । उनले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार हुने अनुमान गरिएको भए पनि अहिलेसम्म विस्तार हुन सकेको छैन । 



यादवले अहिले मुख्यमन्त्रीसहित १० वटै मन्त्रालय आफूसँगै राखेका छन् । मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो दल भएका कारण तीन मन्त्रालयको माग गरेको छ भने अन्य दलहरूले पनि मन्त्रालयका लागि आ–आफ्नो अडान कायम राखेको स्रोतको दाबी छ । 

१०७ सदस्यीय मधेस प्रदेशसभामा सत्ता गठबन्धनका दलहरूले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रिमण्डल विस्तार हुन ढिलो भएको हो ।

मुख्यमन्त्री यादवलाई अहिले नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित १०२ प्रदेश सांसदको समर्थन छ ।

मुख्यमन्त्री यादवले ४ माघमा नै सभामुख र उपसभामुखको शपथ ग्रहण कार्यक्रममा आगामी दुई/तीन दिनभित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । सञ्चारकर्मीको प्रश्नमा उनले आफूले विश्वासको मत लिएपछि आगामी दुई/तीन दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । 

उनले सबै दलसँग विश्वासको मत लिएकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषद्मा सामेल गराउने बताएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र नवनियुक्त मन्त्रीलाई पनि मन्त्रालयको जिम्मेवारी तोकिने बताइएको थियो । यता, नवनियुक्त मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी नपाए पनि शपथ ग्रहण गरेसँगै मन्त्री क्वाटरमा सरेका छन् ।

मन्त्रीद्वय सरोज भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र बसन्त कुशवाहा सामाजिक विकास मन्त्रालयको मन्त्रीले पाउने सरकारी क्वार्टरमा सरेका छन् । संजय अर्थमन्त्रीले पाउने सरकारी क्वार्टरमा सरेका बताइएको छ ।   

  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १२:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया