सरकार विस्तारका क्रममा जनमत पार्टीले रोजेको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेरको तयारी गरिएको छ । जनमत पार्टीका मन्त्री अब्दुल खानले शपथ लिए पनि पदभार ग्रहण गरेका छैनन् ।
उद्योग वा कृषि मन्त्रालयमध्ये एउटा पाउनुपर्ने अडान लिँदै जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले खानेपानीमन्त्रीको कार्यभार सम्हालेका छैनन् । जनमतको अडानपछि सत्तारुढ दलका शीर्षनेताको बैठकले एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरेको छ ।
हाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाउने र खानलाई उद्योग वाणिज्यमा ल्याउने तयारी भएको हो ।
सकेसम्म आइतबार साँझै वा सोमबार बिहानसम्म मन्त्रालय साटफेर हुने बताइएको छ । जनमतको असन्तुष्टिका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रभाव पर्ने सम्भावनाका कारण मन्त्रालय साटफेरको तयारी गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।