कांग्रेस सभापति देउवालाई संसद सचिवालयले दियाे प्रमुख प्रतिपक्षी दलकाे नेताकाे मान्यता

संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलकाे नेताकाे मान्यता दिएकाे छ । संसद सचिवालयले साेमबार पत्र पठाएर देउवालाई प्रमुख प्रतिपक्षी दलकाे नेताकाे सुविधाबारे जानकारी गराएकाे हाे । 

संघीय संसद सचिवालयका उपसचिव रामहरि थापाले नेपाली कांग्रेस संसदीय दलको कार्यालयका नाममा पत्र पठाउँदै देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले दिइने सुविधाबारे जानकारी गराएका हुन् । 

पत्रमा भनिएकाे छ, '... प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची-१ तथा अनुसूची-२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।'

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत माग्दा कांग्रेसले उनलाई विश्वासकाे मत दिएकाे थियाे । प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकाे दललाई प्रमुख प्रतिपक्षीकाे मान्यता दिने कि नदिने भन्नेबारे राजनीतिक वृत्तमा विभिन्न मत बाहिरिएका थिए ।

नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकाे दललाइ प्रमुख प्रतिपक्षीकाे मान्यता दिन नमिल्ने जिकिर गर्दै आफूलाई प्रमुख प्रतिपक्षी दलकाे नेताकाे मान्यता दिनुपर्ने बताउँदै आग्रह गर्दै आएका छन् । उनले साे दाबीका साथ संघीय संसद सचिवालयमा पत्र पठाएका थिए ।



संविधानमा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको दलहरुमध्ये सबै भन्दा बढी सदस्य भएको दलले प्रमुख विपक्षी दलकाे मान्यता पाउने उल्लेख छ । 



प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएका एक भन्दा बढी दलहरुको बराबर सदस्य भएमा ती दलहरुले पारस्परिक सहमतिको आधारमा आफूमध्येबाट मान्यता दिएको कुनै एक दलले प्रमुख विपक्षी दलकाे मान्यता पाउँछ । 

उपखण्ड (२) बमोजिम पारस्परिक सहमति हुन नसकेमा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभाका सबै भन्दा बढी सदस्यहरुले विपक्षी दलको नेता छान्नको लागि लिखित मञ्जुरी गरेको दलले प्रमुख विपक्षी दलकाे मान्यता पाउँछ ।

  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार १६:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया