प्रधानमन्त्रीलाई मन्त्री पाण्डेको जवाफ : सरकारमा रहे पनि हाम्रा मुद्दा यथावत् छन्

सहरी विकासमन्त्री विक्रम पाण्डेले पार्टीको अडान सरकारमा रहे पनि नरहे पनि उही रहेको बताएका छन् । मिडिया नेपाल चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हाम्रा मुद्दा यथावत् रहेका छन् । पार्टीको धारणा रोकिँदैन ।’ यही संविधानभित्र रहेर आफ्ना मुद्दा उठाइने उनले बताए । 

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका मन्त्रीहरुलाई लक्षित गर्दै सरकारमा बसेर गणतन्त्र, संघीयता, धर्म निरपेक्षतालगायतको विरोध गर्न नपाइने बताएका थिए । यी विषयमा विरोध गरे सरकार छाड्नुपर्ने उनको आशय थियो । 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले जनताको आशालाई निरास हुन नदिने बताए । जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताएका हुन् । उनले भने, ‘निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।’

सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उनले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताए ।

सबै जिल्लामा आफ्नो मन्त्रालयको काम छिटो र फरक तरिकाले हुने उनले बताए । उनले थपे, ‘७७ जिल्लामा भइरहेका र गर्नुपर्ने योजना हेरेर त्यसलाई छिटो भन्दा छिटो, फरक तरिकाले आजसम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यसाथ पार्टीले मलाई जिम्मा दिएको हो ।’ 

आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाझिने मन्त्रालयको जिम्मा दिएको भनेर टीकाटिप्पणी भएको भन्दै उनले कुनै स्वार्थ नबाझिने बताए । सिक्टा सिँचाइ योजनामा आफ्नो कम्पनीलाई राजनीतिक उद्देश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाइ पाइसकेको उनले जानकारी दिए । आफूले सञ्चालन गरेका कम्पनीका सबै पदबाट राजीनामा दिइसकेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १८:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया