मुन्नी खातुनको वैदेशिक रोजगारीको पीडा

नेपालमा वैदेशिक रोजगारीको सबल पक्ष (धनआर्जन, रेमिटेन्स तथा सीप) का विषय चर्चामा रहँदै गर्दा वैदेशिक रोजगारीमा भोग्नुपर्ने चुनौती छायाँमा पर्दै आएका छन् । यस्तै, छायाँमा पर्ने पात्रमध्येकी एक हुन्, जनकपुरधाम–४ शान्तिनगर बस्ने ५२ वर्षीय मुन्नी खातुन ।  

बिहेको १३ वर्षपश्चात् पतिको अचानक मृत्यु भएपछि पालनपोषणका लागि २०७० सालमा मुन्नी आफ्ना सन्तानलाई दिदीको जिम्मा लगाउँदै वैदेशिक रोजगारीका लागि साउदी उडिन् । ७० हजार रुपैयाँ ऋण लिएर उनी एजेन्टमार्फत घरेलु कामदारको रूपमा साउदी पुगिन् । तर, विदेश गएको दुई वर्षपछि मुन्नीको मोबाइलमा उनको दिदी बितेको खबर गयो । मुन्नी छाँगाबाट खसेझैं भइन् ।

आफ्ना सन्तानलाई पालनपोषण गर्दै आएकी दिदीको मृत्यु भएपछि उनलाई स्वदेश फर्कनुपर्ने वाध्यता भयो । मुन्नी स्वदेश फर्केर जसोतसो आफ्ना सन्तानको पालनपोषण गर्न सुरु गरे पनि साहुसँग ऋण लिएको पैसा अझै तिर्न सकेकी छैनन् ।  

फुस्रो अनुहार, जिङ्ग्रिङ्ग परेको कपाल, अनि थाकेका आँखा लिएर टुसुक्क बसेकी मुन्नीले फरकधारकर्मीसँग पीडा पोखेकी छन् । ‘अरूको श्रीमान्, छोरा, भाइ, भतिजाले विदेशबाट पठाएको पैसाले घर चल्छ । मलाई त आफैं विदेश जानुपर्ने अवस्था आयो । कलिला उमेरका सन्तानको मोहमाया परित्याग गरेर जसोतसो छातीमाथि मुक्का हानेर गएँ । तर, पैसा कमाउनुभन्दा बढी अहिले ऋणकै बोझले चिन्तामा छु । साउदी जाने बेलामा काढेको ऋण तिर्न सकेको छैन, बालबच्चाको बिचल्ली छ,’ उनले भनिन् ।

उनले आफू साउदी गए पनि त्यहाँ आफूलाई शान्ति भने नमिलेको सुनाइन् । ‘दैनिक २१ घण्टासम्म काम गर्थें, तर तलब अत्यन्त न्यून थियो । पीडा सहेरै जसोतसो काम गरिरहेकै थिएँ,’ मुन्नी भक्कानिँदै भन्छिन्, ‘म विदेश भएको बेला दिदीको मृत्यु भयो । दुई वर्षपछि नेपाल फर्कें । अहिले घरमा कलिला सन्तानहरूको बिजोग छ, उल्टै ऋणको बोझले सताइरहेको हुन्छ । त्यहाँ झन् ८ जनाका लागि खाना पकाउने, घरको सरसफाइ गर्ने, कपडा धुनेलगायत काम गर्नुपर्थ्यो । तर, त्यहाँको भाषा, चालचलन, कानुन, धर्म–संस्कृतिबारे जानकार नहुँदा एक वर्षसम्म नसोचेको दुःख पाएँ । मासिक तलब भनेको जस्ताे थिएन । दलालले भने जस्तो खाने/बस्ने सुविधा पनि थिएन । काम भने थेग्नै नसक्ने हुन्थ्यो ।’

श्रम स्वीकृतिबिना अवैध ढङ्गले गएकाले सबै पीडा सहेरै जसोतसो काम गरेको उनी सुनाउँछिन् । घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूका लागि सरकारले निःशुल्क भिसा, निःशुल्क टिकट भनेको छ । तर, यहाँका महिला श्रम स्वीकृति नलिई दलालमार्फत खाडी मुलुक गइरहेको मुन्नी बताउँछिन् ।



आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर आफू विदेशिएको उनी सुनाउँछिन् । रोजगारीका लागि विदेशिने महिलाको संख्या पछिल्लो समय जे–जसरी बढ्दै गएको छ, त्यससँगै दुःख र वेदनाका कथाहरू पनि त्यसरी नै थपिँदै गएका देखिन्छन् ।



घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै पनि कतिपय महिला वैदेशिक रोजगारीमा गएको पाइन्छ । वैदेशिक रोजगारीलाई रोज्नु महिलाहरूको रहर नभएर वाध्यता हुने गरेको छ । 

  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १६:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया