इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिका २७ रनले विजयी भएको छ । यो जितसँगै दक्षिण अफ्रिकाले सिरिजले १–० को अग्रता लिएको छ । इंग्ल्याण्डले भने सिरिजमा हारबाट सुरुवात गर्याे ।
गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनिङ ब्याटर जेसन रोयले आक्रामक शतक बनाए पनि जित दिलाउन सकेनन् । उनले ९१ बलमा ११ चौका र चार छक्कासहित ११३ रन बनाए ।
एकदिवसीयमा रोयको यो ११ औं शतक हो । उनी र डेविड मलानबीच पहिलो विकेटका लागि ११८ बलमा १४६ रनको विशाल साझेदारी बने पनि तल्लो क्रमका ब्याटर नचल्दा इंग्ल्याण्ड पराजित हुन पुग्यो । मलानले ५५ बलमा ९ चौकासहित ५९ रन बनाए ।
त्यस्तै, कप्तान जोस बटलरले ३६, साम करनले १७, आदिल राशिदले अविजित १४ र मोइन अलीले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजेले चार, सिसन्दा मंगलाले तीन, कागिसो रबाडाले दुई र तरबिज शाम्सीले एक विकेट लिए ।
त्यसअघि ब्लोमफोन्टेन मन्गाउन्ग ओवल मैदानमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ९८ रन बनायो । उसका लागि रस्सीभानदर दुसेनले शतकीय पारी खेले । ११७ बलको सामना गरेका उनले ६ चौका र एक छक्कासहित १११ रन बनाए ।
एकदिवसीयमा दुसेनको यो चौथो शतक हो । त्यस्तै, डेविड मिलरले ५३, क्विन्टन डिककले ३७, कप्तान तेम्बा बावुमाले ३६, हेनरिक क्लासेनले ३० र एडन मार्कमले १३ रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि साम करनले तीन, आदिल राशिद, ओली स्टोन, मोइन अली, जोफ्रा आर्चर र डेविड विलीले एक/एक विकेट लिए । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको दोस्रो खेल आइतबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।